आज: २०८२ भाद्र ३१, मंगलबार | Tue, 16, Sep, 2025

आपूर्ति सहज छ,अनावश्यक सामान थुपारेर सञ्चित नगर्न :आपूर्ति मन्त्रालय

२०८२ भाद्र ३१, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

काठमाडौं -३१ भदौ ।

उपभोग्य वस्तुको आपूर्ति सहज भएकोले अनावश्यक सामान थुपारेर सञ्चित नगर्न आपूर्ति मन्त्रालयले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेकोले मन्त्रालयले सो कुरा बताएको हो ।

मन्त्रालयले शोमबार विज्ञप्ति जारी गर्दै उपभोग्य वस्तुको माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्याधिक वस्तु अनावश्यक सञ्चित नगर्न र नगराउन सबैमा अनुरोध गरेको हो।

यसका साथै बजार अनगुमनलाई प्रभावकारी बनाउने र उपभोक्ता अधिकार हनन तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति शृङ्खलामा अवरोध गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ।

नेपालीहरुको आउँदै गरेको मुख्या ठुला चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत देशभर आजैदेखि १५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

जेन्जी आन्दोलनको नाउँमा हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको असर साथै नजिकिँदै कोरेको चाडपर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा मन्त्रालयले शोमबार निजी क्षेत्रका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो।

सोही छलफलका क्रममा सरकारी संरचना र निजी व्यावसायिक संस्थामा भएको आगजनी, तोडफोड,लुटपाट र क्षतिको एकीकृत विवरण तयार गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए।

युवा समुह जेन्जीको चहाना अनुसार गठन भएको सरकारले औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी संरक्षण र प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल उकास्ने र क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका सम्बन्धमा छलफल भएको प्रवक्ता बस्नेतको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस