
नारी बाटिका
बिवियु,नारी वाटिका संवाददाता
धादिङ -१५ कार्तिक ।
कार्तिक शुक्ल एकादशी तिथिमा पर्ने हरिवोधनी एकादशी आज । तुलसीको पूजा आराधना गरी हरिबोधिनी पर्व मनाइँदैछ ।
हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।
एक वर्षमा २४ वटा एकादशी हुन्छन्, अझ मलमास परेको वर्षमा त २६ वटा एकादशी पनि हुन्छन्। तर ती सबै एकादशी मध्यका यी दुईवटा एकादशीलाई विशेष महत्त्वका साथ शास्त्रीय विधिविधान पालना गरी व्रत बसी चोखो खानृ परम्परा छ । यसरी यी दुई एकादशीको विशेष महत्त्व हुनुमा विष्णु भगवानको शक्ति मानिन्छ ।
हिन्दू धर्ममा एकादशीलाई भगवान बिष्णुको उपासना गर्ने दिनको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आरआराधना गरिन्छ । तर असारको हरिशयनी एकादशी र आजको तिथिमा पर्ने हरिवोधिनी एकादशीलाई विशेष महत्वको रुपमा हेरिन्छ ।
औषधिको गुणले युक्त रहेको तुलसीको विरुवा आषाढ शुक्ल एकादशीको दिनमा रोपेर हरेक दिनमा पुजा गर्दै आईने उक्त तुलसीको विवाह शालिग्राम भगवानसंग गरिन्छ । आजबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने आजको एकादशीलाई हरिबोधनी एकादशी भनिएको हो ।
भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुने उल्लेख गरिएको छ । यसै अनुसार हिन्दू धर्माबलम्बीहरुले आज बिहानै नुवाई धुवाई गरि ब्रत बसेर भगवान विष्णुको पूजा आराधना गर्ने गरिन्छ ।
हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानिलकण्ठ लगाएत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खु नारायण, इचङ्गु नारयण र शेष नारायणमा विशेष मेला लाग्ने गर्दछ ।
महाभारत ग्रन्थका अनुसार कहिल्यै भोको नबस्ने भीमसेनले पनि यस दिन ब्रत बसेका थिए । त्यसैलै अरु दिनमा ब्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीहरुले समेत ठूलो एकादशीको दिनमा भने ब्रत बस्नै पर्ने मान्यता रहेको छ ।
चार महिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ(आफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिनमा मठ सिंगारेर विशेष पूजा गरि विष्णु भगवानका अर्का रुप शालिग्रामसंग विवाह गरिदिने परम्परा पनि रहि आएको छ
भोलीपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतिकको रुपमा पूजा गरिएको तुलसीको बिसर्जन पनि गरिन्छ ।
हरीबोधनी एकादशीको दिनमा प्रसादको रुपमा विशेषगरि सख्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूलहरु भगवान विष्णुलाई चढाएर ब्रतालुहरुले प्रसादको रुपमा खाने गरिन्छ ।
हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिएको छ ।







प्रतिक्रिया दिनुहोस