
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -१० मंसिर ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा सात प्रदेश कै तुलनामा आँखाका रोगीहरु बढेका छन् । ४० वर्षभन्दा माथिका उमेर समुहको आँखा स्वास्थ्य समस्या बारे हालसम्मकै तथ्यांक सार्वजनिक भए अनुसार राजधानीका बासिन्दामा गरिएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
नेपाल आँखा कार्यक्रम र तिलगंगा इन्स्टिट्युट अफ अफ्थाल्मोलोजीले २०२२ देखि २०२४ सम्म सञ्चालन गरेको काठमाडौं आँखा अध्ययनले आँखाका रोग, जोखिम कारक, सेवा पहुँच, जनचेतना तथा आँखा दानप्रतिको धारणा जस्ता महत्वपूर्ण सूचकहरूको अवस्थालाई समेटेर तयार गरी पहिलो पटक सार्वजनिक गरेको हो।
अध्ययनको निष्कर्षमा सहर क्षेत्रमा आँखा स्वास्थ्य नीतिलाई वैज्ञानिक प्रमाणको आधारमा पुनरावलोकन र सुधार गर्न निर्णायक हुने अपेक्षा गरिएको छ । नतिजा सार्वजनिक गर्ने कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले अध्ययनले सरकारका लागि आवश्यक प्रमाण–आधारित जानकारी दिएको भन्दै खुसी व्यक्त गर्नु भयो ।
अध्ययनले राजधानीवासीमा दृष्टिदोष, अन्धोपन, मधुमेह सम्बन्धी आँखाका जटिलता तथा अन्य दीर्घरोगजन्य आँखा समस्याको दर उच्च रहेको देखाएको छ । तिलगंगा नेत्र विज्ञान संस्थानले सञ्चालन गरेको काठमाडौं आँखा अध्ययनले ४० वर्षभन्दा माथिका प्रायः सबै सहभागीहरु मध्ये कुनै न कुनै आँखा रोगको समस्या भेटिएको जनाएको छ ।
भिजन २०२० कार्यक्रम सम्पन्न भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले २०१९ मा प्रस्तुत गरेको ‘दृष्टिसम्बन्धी विश्व प्रतिवेदन’ मार्फत २०३० सम्मको विश्वव्यापी आँखा स्वास्थ्य लक्ष्य तय गरेको थियो । एकीकृत जन–केन्द्रित आँखा हेरचाह (आईपीईसी) मोडेल मार्फत प्रभावकारी अपवर्तक त्रुटि कभरेज, प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज तथा मधुमेह रेटिनोप्याथी उपचार कभरेज विस्तार गर्ने नेपालको लक्ष रहेको छ ।







प्रतिक्रिया दिनुहोस