आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

माघे सङ्क्रान्ति, उत्तरायणको पहिलो दिन आज

२०८२ माघ १, बिहिबार मा प्रकाशित ( १ महिना अघि) २८८४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१ माघ । बिबियु

आज मकर (माघे) सङ्क्रान्ति, आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे )सङ्क्रान्ति भन्ने गरिन्छ।

माघ १ गते अर्थात आजै देखि उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान,जप,तप,ध्यान साधना, दान आदिलाई विशेष पुण्य दानको रुपमा मानिएको हो।

यसै कारण आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठुला तिर्थस्थल नदीमा गइ माघ स्नान गर्ने भक्तजनको भीड लाग्दछ। यी स्थलहरुमा आज विशेष मेला पनि लाग्ने गर्छ।

माघे सक्रान्तीका तराईवासीले नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य रुपमा नुहाउनु पर्ने मान्यता छ।

आजको दिन बिहानै उठेर तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे सक्रान्तीमा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनु हुन्छ ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ। त्यसैले आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने विश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।

धार्मिक मान्यता मात्रै नभइ वैज्ञानिक रुपमा समेत यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो। यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ।

आजको दिन (माघे ) सक्रान्तीमा खानको लागी सेलरोटी,तरुल,सखरखण्ड,पिँडालु लगायतका परिकार पुसको अन्तिम दिन(हिजै) पकाएर राखी आज माघमा खाने प्रचलन छ। यसलाई ‘पुसमा पाके, माघमा खाके’ भन्ने उखानका रुपमा समेत प्रयोग गरिन्छ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्नाले हाम्रो शरिरबाट दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।

अर्को तर्फ सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा अनुसार मृत्युको वरदान पाएपछी सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ। आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ।

त्यसैगरी माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ। स्वस्थानी ब्रतकथामा बाचनकर्ता स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको तिनजनाको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ। यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ।

माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस