आज: २०८२ भाद्र १८, बुधबार | Wed, 03, Sep, 2025

बुढी गण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्रगतिमा लगिने ; प्रधानमन्त्री प्रचण्ड

२०८० श्रावण ३, बुधबार मा प्रकाशित ( २ साल अघि) ३८०२ पटक पढिएको
नारी बाटिका


गोरखा ३ साउन

बूढीगण्डकी जलाशयुक्त आयोजनालाई छिट्टै निर्माण गर्न तिब्रगतिमा कार्य सम्पादन गरिने प्रधानमन्त्री प्रचण्डले वताउनु भएको छ । लामो समयदेखीको अन्योलतामा रहेको उक्त आयोजनालाई अब ढिला नगरी तिब्रगतिमा निर्माण कार्य हुने प्रधानमन्त्रि प्रचण्डले दावी गर्नु भएको हो । सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना छिट्टै निर्माण गर्ने घोषणा गरेको छ ।

कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले आज यहाँ उद्घाटन गर्नुभयो । राजनीतिक चपेटामा परेको आयोजना स्वदेशी लगानीमै निर्माण हुने सुनिश्चितता समेत बढेर गएको हो । प्रधानमन्त्री प्रचण्डले आम मानिसको मनमा रहेको जिज्ञासालाई निरुपण गर्दै भन्नुभयो, “केही समयभित्रै आयोजनाको शिलान्यास हुन्छ, अब कुनै पनि बाहानामा ढिलाइ हुँदैन र गरिँदैन पनि ।

” उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, धादिङ र गोरखाका प्रतिनिधिसभा सदस्य, मुख्य सचिव, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक सहितको टोली लिएर उक्त आयोजना स्थल पुग्नु भएको थियो ।
प्रधानमन्त्रीले आयोजनाका बारेमा अब कुनै पनि द्विविधा बाँकी नरहेको बताउनु भयो । “लागातारको छलफलपछि हामी एउटा निष्कर्षमा पुगेका छौँ । आवश्यक पर्ने सबै गृहकार्य गरेर यो परियोजना अघि बढाउने सङ्कल्प गरिएको छ ।

ऊर्जा मन्त्रालयको मात्रै नभई अर्थ मन्त्रालय देखि अन्य मन्त्रालयसँगको छलफल पछि अब निष्कर्षमा पुगिएको छ”, उहाँले भन्नु भयो । जलाशयुक्त आयोजना भएकाले बूढीगण्डकी आफैँमा महँगो भए पनि बहुउद्देश्यीय हुनुका कारण नाफा मूलक बन्ने पनि उहाँको भनाइ रहेको छ । आयोजना निर्माणका लागि सबै अध्ययन प्रतिवेदन तयार भइसकेको छ ।

परियोजना निर्माणका लागि चाहिने लगानी व्यवस्थापनका गर्न सरकारले आवश्यक गृहकार्य गरी तयारी गरिरहेको प्रधानमन्त्री दाहालले बताउनु भयो । “यो आयोजना ‘रेडी टु गो’ आयोजना हो । आयोजनालाई जति सक्दो छिटो अगाडि बढाउन हामीले तयारी गरिरहेका छौँ । अब कुनै पनि तर्क वा बहानामा काम ढिलाइ गर्न हामीलाई छुट छैन”, उहाँले भन्नु भयो, “आयोजना निर्माणको काम अगाडि बढाउन ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड लगायत आयोजनासँग सम्वद्ध सबैलाई यसै कार्यक्रम मार्फत निर्देशिन समेत गर्दछु ।” मुलुकमा ऊर्जा क्षेत्रको विकासका लागि यस आयोजना कोशेढुङ्गा सावित हुने प्रधानमन्त्री दाहालको दावी रहेको छ ।

एक हजार दुई सय मेगावाट उत्पादन क्षमता रहेको उक्त जलविद्युत् आयोजना गोरखा र धादिङ जिल्लाको मात्र नभएर सिङ्गो देशको विकास र समृद्धिमा गुणात्मक योगदान गर्ने राष्ट्रिय गौरवको बहुआयामिक आयोजना रहेको उहाँले उल्लेख गर्नु भयो । जलविद्युत्का साथै पर्यटन प्रवर्द्धन, माछा पालन, तल्लो तटीय क्षेत्रको समग्र विकासका दृष्टिले समेत यो आयोजना महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ ।

यस आयोजनाले हिउँदमा हुने विद्युत् सङ्कटबाट देशलाई मुक्त गर्ने, ऊर्जा तथा पर्यटन विकासलाई सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने, वस्तु तथा सेवा क्षेत्र उत्पादनमा वृद्धि गरी देशको आर्थिक गतिविधि बढाउने, माछापालनलगायतका बहुआयामिक व्यवसाय जोडेर राष्ट्रिय आय वृद्धि गर्ने तथा देशको मध्यभागको आयोजना भएकाले राष्ट्रिय प्रसारण लाइनका लागि कम लगानी लाग्नेलगायतका सम्भावना बोकेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

बूढीगण्डकी जलविद्युत् कम्पनीका अनुसार सो आयोजना प्रभावितलाई हालसम्म रु ४३ अर्ब बराबरको मुआब्जा वितरण गरिएको छ । त्यसमा घर जग्गातर्फ रु ३४ अर्ब ३० करोड र बोट–बिरुवालगायतका हकमा रु छ अर्ब ७० करोड बराबर छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आयोजनालाई जलविद्युत्मा मात्रै सीमित नगर्ने सोचसहित बृहत्तर विकासको अवधारणामा अगाडि बढाउन प्राधिकरण बनाउनु पर्ने बताउनु भयो ।

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा नै आयोजनाका लागि विकास समिति र प्राधिकरणको अवधारणा ल्याएको बताउनु भयो । आयोजनालाई बहुपक्षीय लाभ प्राप्त हुने, बेरोजगारीको समस्या समाधान गर्ने र समग्र मुलुकका साथै आयोजना प्रभावितको समेत हित हुने गरी अगाडि बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेले आयोजनालाई बहुउद्देश्यीय प्रकृतिबाट अगाडि बढाउन आग्रह गर्नु भयो । उहाँले आयोजना प्रभावितको मनमा रहेको आशङ्का सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले आयोजना प्रभावितका बाँकी रहेका माग सम्बोधन गरी शीघ्र निर्माण कार्य अगाडि बढाउन आग्रह गर्नु भयो । आयोजना अगाडि बढाउने तत्परता देखाउनु भएकामा उहाँले प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद समेत दिनु भयो । प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले राज्यको ठूलो लगानी भइसकेको तथा राष्ट्रिय गौरवसमेत जोडिएकाले तत्काल निर्माण सुरु गरिहाल्नुपर्ने बताउनु भयो ।

सांसद राजेन्द्र बजगाईँले आयोजनाबाट डुबानमा पर्ने स्थानीय मठमन्दिर, पार्टीपौवा तथा स्थानीय संस्कृतिको संरक्षण गर्नेतर्फ पनि आयोजनाले ध्यान दिनुपर्ने बताउनु भयो । धादिङ र गोरखाको सीमा भएर बग्ने बूढीगण्डकी नदीलाई मलेखुस्थित पृथ्वीराजमार्गबाट दुई किलोमिटर पश्चिममा कुल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

त्यसबाट फेवाताल भन्दा १६ गुणा ठूलो ताल बन्नेछ । त्यसबाट माछापालन, पर्यापर्यटनको विकास तथा स्थानीयवासीलाई विभिन्न रोजगारीसमेत उपलब्ध हुन जाने बूढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत् श्रेष्ठको भनाइ छ । कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले राष्ट्रिय गौरवको एवं बहुउद्देश्यीय प्रकृतिको आयोजना भएकाले यसलाई सरकारले छिट्टै अगाडि बढाउने विश्वास दिलाउनु भएको छ ।

बढी बिजुली माग हुने काठमाडौँ, पोखरा, नारायणगढलगायतका लोड सेन्टर नजिकको सो आयोजना आफैँमा महत्त्वपूर्ण रहेको छ । सरकारले विसं २०७९ असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । लामो समयसम्म स्वदेशी लगानी कि विदेशी भन्नेमा आवश्यक निर्णय हुन नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

नेपालको ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको सो आयोजना निर्माणका लागि सरकारले रु ६० अर्ब अधिकृत पुँजी रहने कम्पनी स्थापना गरेको थियो । कम्पनी दर्ता भए पनि पछिल्लो एक वर्ष थप तयारीका लागि व्यतित भएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस