आज:  | Thu, 16, May, 2024

आज भाद्र कृष्ण कुशे औँसी अर्थात बावुको मुख हेर्ने दिन,घर घरमा कुश भित्र्याएर मनाउँदै

२८ भाद्र २०८०, बिहीबार ०८:१० मा प्रकाशित ( ८ महिना अघि) ३४२ पाठक संख्या
नारी बाटिका


भगवती उप्रेती

काठमाडौं,२८ भदौ ।

भाद्र कृष्ण औँसी अर्थात बावुको मुख हेर्ने दिन । हरेक वर्ष आजका दिनलाई कुशे औँसी अर्थात बावुको मुख हेरेर मनाईने पर्व हो । आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा कुश भित्र्याएर मनाउँदै छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर आफ्ना जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास चलि आएको छ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ।

आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । साथै सनातन धर्मावलम्बी नेपाली नारीहरुले अघिल्लो दिन दर खाने,भोली पल्ट तिजको ब्रत बस्ने र पञ्चमीको दिन खोला,नदी,तालहरुमा ग्ई शुद्ध भई आजकै दिन घरमा भित्र्याईएको कुशलाई कम्मर,पाखुरा,शिरमा बाँधेर र जनै समेत कुशको लगाएर दत्तिओन टोक्ने गरिन्छ ।
यसरी नारिहरुले कुशलाई शरिरको विभिन्न अंगमा बाँधेर दत्तिओन टोक्नाले वर्षभरी मैनावारी हुंदा यताउता छोईछिटो भएको पाप पनि जान्छ भन्ने महत्वपुर्ण विस्वास रहेको छ ।

आजको दिनलाई बाबुको मुख हेर्ने दिन तथा पितृसम्मान दिवस पनि भनिन्छ । यसै अवसरमा छोरा छोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई,खानेकुरा तथा भोजन खुवाई आदर सम्मान प्रकट गरी बाबुको मुख हेर्ने गर्दछन् । साथै आफ्ना बुबा नहुने विभिन्न पवित्र स्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् ।

विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । कुशे औंशीकै अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्दछ ।यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्ने गर्दछ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुसार आजको दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचि अनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ। बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

साथै आफ्ना पितृहरुको नाममा आजको दिन केही दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ।दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद्हरु बताउछन् । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने पितृहरुको नाममा दान गर्दा सुपात्रमै दिइनु पर्छ भन्ने शास्त्रीय मान्यता छ ।

हरेक वर्ष भाद्रकृष्ण कुशे औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेको उक्त मन्दिर ब्यवस्थापन समिती जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस