आज:  | Thu, 18, Jul, 2024

यस वर्षमा पनि डेंगुको संक्रमण विकराल बन्ने सम्भावना,द्रुत गतिमा प्रतिकार्य योजना

११ असार २०८१, सोमबार ०८:३४ मा प्रकाशित ( ३ हफ्ता अघि) १४० पाठक संख्या
नारी बाटिका


बिबियु
नारी बाटिका संवाददाता

काठमाडौं १० असार ।

गर्मी बढेसँगै यस वर्षमा पनि लामखुट्टे वृद्धि भएको र डेंगुको संक्रमण पनि बढ्दै गइरहेको अवस्था छ । देशमा मनसुन भित्रिएसँगै डेंगुको संक्रमणले बिकराल रूप लिने सम्भावना बढेर गएको चिकित्सकहरुले बताएका छन्। यस अवस्थालाई ध्यानमा राखी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेबाट जोगिन सबैलाई सुचना मार्फत अनुरोध गरेको छ।

यस वर्षमा लामो समयसम्म वर्षा नभएको र एकैपटक विगतमा भन्दा बढी पानी पर्नसक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेसँगै स्वास्थ्य मन्त्रालयले डेंगुले विकराल रूप लिनसक्ने जोखिम औंल्याएको हो । विगतमा भन्दा हालको समयमा बढ्दो तापक्रम र मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्ने र सङ्क्रमितको संख्या समेत बढ्न सक्ने मन्त्रालय प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनु भयो ।

जोखिम न्युनिकरणका लागी मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहहरूमा वर्षातको समयमा हुनसक्ने डेंगु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोली गठन गरी तयारी अवस्थामा रहन र आवश्यक्ता अनुसार परिचालित हुन पत्राचार गरेको छ।

त्यस्तै मन्त्रालयले संघ, प्रदेश,स्थानीय तह, मातहतका निकायहरूसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन र प्रसारण, रोगको नियन्त्रण गर्न प्रतिकार्य योजना बनाउने कामहरू पनि भइरहेको जनाएको छ । मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि चाहिने किट,औषधोपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको जनाएको छ ।

मन्त्रालयका अनुसार विगत ६ महिनामा ७२ वटा जिल्लाबाट १ हजार २ सय ४१ जना डेंगुका बिरामी फेला परेको छ। डेंगु रोगका मुख्य लक्षणहरूमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु आदि लक्षणहरु देखा पर्ने गर्दछ ।

यसैगरी एक्कासी उच्च ज्वरो आउनु वान्तामा रगत देखापरेमा, नाक वा गिजाबाट रगत आएमा, धेरै पेट दुखाई भएमा, श्वासप्रश्वासमा समस्या, र बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन तथा परामर्श लिन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु नै हो। त्यसैले डेंगुबाट जोगिन आफ्नो घर वरिपरि तथा कार्यस्थल सफा राख्ने, पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने लगायतमा ध्यान दिनु आवश्यक छ।

पहिले पनि डेंगु भइसकेको व्यक्तिको शरीरमा एक वर्षसम्म रोग प्रतिरोधात्मक प्रणालीले सकारात्मक काम गर्ने र एक वर्षपछि पुनः काम नगर्ने हुनाले डेंगु एक वर्ष ह्वातै बढ्ने र अर्को वर्ष घट्ने कुरा मन्त्रालयका प्रवक्ता डा। बुढाथोकी बताउनु हुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस