
नारी बाटिका
बिबियु
काठमाडौं ३० मंसिर ।
आज धान्य पुर्णिमा अर्थात् मार्गशीर्ष शुक्ल पूर्णिमा। सनातन धर्मावलम्बीहरुले गाई गोठमा पुजाआजा गरी विभन्न परिकारहरु खाएर यो पूर्णिमा मनाईँदैछ ।
हिउँदे अर्थात मंसिरे धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास छ।
यसका साथै नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा ९गोठधुप० गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईबस्तुको पूजा गरिन्छ।
तर समुदाय अनुसारमा यो पर्व मनाउँने गरिन्छ । विशेष गरी आजको दिन कुलदेवताको पूजा गर्ने चलन छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ। कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर तथा परिकार तयार गरी भोग लगाइन्छ।
नयाँ चामलबाट बनेको खीर, चामलको पिठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा छ। कतिपय स्थानमा कुलदेवताका पूजामा पशुबलि पनि दिइने गरिन्छ।
नेवार समुदामा योमरी पुन्हि
नेवार समुदायमा ‘थिन्ला पुन्हि’ वा ‘योमरी पुन्हि’का रूपमा यो पर्वको महत्त्व छ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।
किरात समुदायमा उधौली
किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो। अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वको महत्त्व छ।देशका अधिकांश जाति समुदायको महत्त्वपूर्ण पर्व पर्ने भएकाले नेपाल सरकारले यो दिन सार्वजनिक बिदा दिएको छ।







प्रतिक्रिया दिनुहोस