
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं १३ जेठ ।
हालै छिमेकी देश भारतमा कोभिड–१९ को नयाँ सङ्क्रमण पुनः तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि यसको जोखिम बढेको देखिन्छ । नेपाल र भारत पानी पँधेरो जस्तै भएकोले दैनिक रुपमा मानिसको आवत जावत बढी नै हुने अवस्थामा नेपाल सरकारले सतर्कता बढाएको छ भनेआवश्यक तयारी पनि थालिसकेको जनाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाइसकेको जनाएको छ । महाशाखाका निर्देशक डा.चन्द्रभाल झाका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको नेतृत्वमा सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै उच्चस्तरीय बैठक पनि सम्पन्न भइको जनाएको छ ।
मन्त्रालयले बैठकपछि निगरानी प्रणालीलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ। “हालसम्म नेपालमा कोभिड–१९ को नयाँ केस भने भेडिएको छैन, तर हामीले सतर्कता भने अपनाएका छौं,“ डा.झा भन्छन् । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई थप सक्रिय बनाउने कार्य अघि बढाइएको छ ।
महाशाखाको अनुसार हालको अवस्थामा कोभिड परीक्षणका किटहरु पर्याप्त मात्रामा स्टकमा रहेको बताएको छ । आवश्यकता अनुसार मात्र परीक्षण किटहरु वितरण गरिने र सबै नाकामा तत्कालै वितरण गर्नु आवश्यक नरहेको डा. झाले बताए । उनले जनस्वास्थ्यको दृष्टिकोणले जनचेतना अभिवृद्धिमा पनि जोड दिइएको बताए ।
यसैगरी मन्त्रालयले कोभिड रोकथामका लागि आवश्यक औषधिजन्य सामग्रीहरूको सूची तयार पारिएको र खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले एक महिनाभित्र आवश्यक सबै तयारी पुरा गर्ने प्रतिबद्धता जनाएको महाशाखाले जनाएको छ ।
संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले हाल नेपालमा अत्याधिक डराउनुपर्ने अवस्था नरहेको बताएको छ । “भारतमा सङ्क्रमण फैलिँदैमा हामी हतारिएर आत्तिनुपर्ने अवस्था छैन,” उनले भने, “तर सजगता आवश्यक छ ।”







प्रतिक्रिया दिनुहोस