आज:  | Sat, 21, Jun, 2025

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

७ असार २०८२, शनिबार ०६:१६ मा प्रकाशित ( ३ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ७ असार ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा उपचार सुविधा दिने भएको छ ।

सुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको हो । त्रिवि उपकुलपति डा.केसीका उपस्थितिमा मन्त्रालयमा भएको समझदारी अनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुने भएको छ ।

समझदारी पत्रमा त्रिविले प्राध्यापक तथा विद्यार्थीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहन गर्ने समेत उल्लेख गरिएको छ ।

कार्यक्रममा मन्त्री पौडेलले सरकारले संगठित क्षेत्रमा आवद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा आबद्ध गराउने निर्णय गरिसकेकाले त्रिविले समेत आगामी दिनमा सबैलाई आबद्ध गराएर स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउन आग्रह गर्नु भएको छ । यसका लागि त्रिविले आवश्यक गृहकार्य चाँडै सक्ने मन्त्रीको विश्वास छ ।

आगमी वर्षको निति तथा कार्यक्रम समेत समेटिएकोले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन श्रोत थप्नुका साथै नीतिगत सुधार भैरहेको बताउँदै मन्त्री पौडेलले त्रिविका प्राध्यापक विद्यार्थी आबद्ध हुँदा सकारात्मक सन्देश जाने बताउनु भयो ।

त्रिविका उपकुलपति डा. केसीले स्वास्थ्य बीमामा आबद्धताका लागि प्रक्रिया थालिएको भन्दै कार्यदल बनाउने बताउनु भएको छ । उनले त्रिवि र मन्त्रालयबीच शिक्षा र स्वास्थ्यमा थप सहकार्य गर्ने बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस