
नारी बाटिका
नारी वाटिका संवाददाता
बुटवल -१८ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ जानकीनगर स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक व्यवस्थापक कर्मचारी फरार भएका छन् । सहकारीमा ३० करोडभन्दा बडी रकम अनियमितता गरी संन्चालक तथा व्यवस्थापक फरार भएका हुन् ।
सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा, उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य र व्यवस्थापक वसन्त पराजुलीहरुले सहकारीको करिब ३० करोड रकम हिनामिना गरेको प्रारम्भिक अनुमानले देखाएको बताइएको छ ।
सहकारीका सञ्चालक तथा व्यवस्थापक फरार भएसँगै सहकारीको कार्यालयमा रहेका खातापाता,अभिलेख, कागजात लगायतका सबै सामग्रीको सुरक्षार्थ वडा कार्यालयले प्रहरीको रोहबरमा तालाबन्दी गरेको छ ।
किसानका लागी गाई भैंसी पालन र दुध बिक्री वितरणमा सहयोग पुर्याउने भन्दै खोलिएको उक्त सहकारी संस्थामा करिब एक हजार नौ सय सेयर सदस्य रहेको सहकारीमा करोडौँ करोड रुपैंयाँ एकैं व्यक्तिले राखेको समेत खुल्न आएको छ । सहकारी समस्या ग्रस्त रहेको आशंकामा आन्तरिक लेखापरीक्षण गर्दा करिब ३० करोड हिनामिना भएको खल्न आएको हो ।
रुपन्देहीमा विभिन्न सहकारी संस्थाहरु एकपछि अर्को समस्याग्रस्त हुँदै जाँदा पछिल्लो पटक डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा रकम हिनामिना भएको बाहिर आएको हो । रुपन्देहीमा बचतकर्ताको रकम हिनामिना गर्ने यो १२ औं नम्वरको सहकारी बनेको छ । सोही प्रकरणमा मंगलबार राति करिब १२ बजे वडाको रोहबरमा कार्यालयमा तालाबन्दी गरिएको हो ।







प्रतिक्रिया दिनुहोस