आज: २०८२ श्रावण २५, आईतबार | Sun, 10, Aug, 2025

आठ कक्षाका छात्रामाथि छात्रबाटै साामुहिक बलात्कार

२०८२ श्रावण २३, शुक्रबार मा प्रकाशित ( २ दिन अघि) १९२३ पटक पढिएको
नारी बाटिका


खोटाङ -२३ साउन ।

खोटाङमा विद्यालयबाट घर फर्कँदै गरेकी १४ वर्षीया छात्रालाई आफ्नै स्कुलका ९ कक्षामा पढ्ने साथीहरुबाट सामुहिक बलात्कार भएको छ ।

गत साउन–१९ गते ८ कक्षामा अध्ययनरत निज छात्रालाई एउटै बिद्यालयमा ९ कक्षामा अध्ययन गरिरहेका दुई जना छात्र साथीहरुबाट सामुहिक बलात्कार भएको हो ।

पिडित किशोरी विद्यालयबाट घर फर्कने क्रममा तिमीसँग कुरा गर्नुछ भन्दै अघिपछि लागेका दुई जना दाजु पर्ने केटाहरुले जङ्गलको बीचमा बाटो छेकेर त्यस रात बलात्कार गरेको पीडित बालिकाले बताएकी हुन् । उनी दिउँसोको साढे चार बजे विद्यालयबाट घर फर्कँदै गर्दा एक जना कक्षा ९ मा पढ्ने दाजुले तिमीसँग कुरा गर्नुछ भन्दै रोकेका थिए ।

सँगै आएका बालिकाको साथीहरु आ–आफ्नो घर गइसकेका र आफु एक्लै भएकाले हतारिएर छिटो–छिटो हिँडिरहेकी समयमा केही बेरमा दुई जना दाजु पर्ने छात्रहरु आएर उनको बाटो छेकेका थिए ।

‘बाटो छेकेर एकछिन हामीसँग बस भन्यो ।’ बालिकाले भनिन्–‘उनीहरुले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । बसेर चटपटे खायौँ ।’ चटपटे खाइसकेपछि बाटो नजिकै रहेको ओढारमा लगेर बलात्कार गरेको पीडितले जनाएकी छिन् ।

विद्यालय गएकी बालिका साथीहरुबाटै बलात्कृत भएको जानकारी पाएपछि आफन्तले साउन–२० गते जिल्ला प्रहरी कार्यालय खोटाङमा पीडकहरुको कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दर्ता गराएका छन् ।

अध्ययनका लागि विद्यालय गएर घर फर्कँदै गरेकी बालिकालाई बाटो छेकेर आफ्नै विद्यालयका छात्राहरुबाटै सामुहिक बलात्कार भएको पुष्टि भएपछि दोषीमाथि कानूनी कारबाहीको लागी अघि बढेको छ ।

विद्यालय गएकी बहिनी बेलुका अबेरसम्म घर नफर्किएपछि खोजि गर्दा भोलिपल्ट बिहान साँढे ५ बजे घरभन्दा करिब पाँच सय मिटर टाढा पर्ने राम्चेभीर स्थित ओढारमा झोक्राइरहेको अवस्थामा फेला पारिएको पीडित बालिकाको दाजुले बताएका थिए ।

नाबालक बहिनीमाथि जबरजस्ती बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर प्रहरीमा किटानी जाहेरी दिएको आफन्तले जनाएका छन् । विद्यालयले उपलब्ध गराएको जानकारी अनुसार बालिकामाथि सामुहिक बलात्कार गरेको आरोप लागेका राई थरका छात्र १५ वर्षका र विश्वकर्मा थरका अर्का छात्र १६ वर्षका हुन् ।

पिडितका आफन्तबाट प्रहरीमा उजुरी परे लगत्तै सोही राति बालिकाको स्वास्थ्य परीक्षण गराएर साउन–२१ गते दुई जना बिरुद्ध किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ ।

घटनापछी बलात्कारमा संलग्न दुबै छात्राहरु हाल फरार रहेको जनाईएको छ । मुद्धा दर्ता गरेलगत्तै प्रहरीले साउन–२१ गते जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी लिएर उनीहरुको खोजि कार्य भइरहेको जनाएको छ ।

बलात्कृत बालिकालाई साउन–२२ गते आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । विद्यालय पोशाकमै बलात्कृत भएकी बालिकाले लगाएको पोशाक समेत जिल्ला प्रहरी कार्यालय खोटाङमा बुझाइएको आफन्तले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस