आज: २०८२ भाद्र २, सोमबार | Mon, 18, Aug, 2025

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना

२०८२ भाद्र १, आईतबार मा प्रकाशित ( १७ घण्टा अघि) ३३१८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डटकम संवाददाता

काठमाडौं -१ भदौ ।

जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्।

आइतवार नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा धर्नामा बसेका उनीहरूले पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। गुठी संस्थानबाट महासंघले कानूनी प्रक्रिया पूरा गरी लिजमा लिएको जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एशोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए।

वकिलहरूले गरेको आक्रमणले पत्रकार महासंघ प्रदेश अध्यक्षसहित उपाध्यक्ष, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका छन् । पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले महासंघ प्रादेशिक भवन निर्माणका लागि गुठी संस्थानसँग सम्झौता गरी जग्गा भाडामा लिएका थिए ।

उक्त जग्गा आफ्नो मातहत भएको दाबी गर्दै बार एशोसिएसन जनकपुरका उनीहरूसंग विवाद बढेपछी सोही विवादलाई लिएर वकिलहरूले पत्रकारमाथि साङ्घातिक आक्रमण गरेको र सो घटनाका दोषीलाई अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको आरोप लागेको छ। प्रहरीले कारबाहीको लागि कुनै कदम नचाल्दा पत्रकारहरु धर्नामा बस्न बाध्य भएको बताइएको छ।

महासंघ मधेस प्रदेश कमिटीका अध्यक्ष श्याम बञ्जाराले आक्रमणकारी विरुद्ध किटानी जाहेरी दर्ता गराए पनि स्थानीय प्रशासनले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। न्यायका लागी शान्तिपूर्ण धर्नाको माध्यमबाट स्थानीय प्रशासनलाई दबाब दिएको उल्लेख गर्दै पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूमाथि कारबाही नगरिए आन्दोलनको शैली परिवर्तन गरी देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनरत पत्रकारहरूले आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर धर्नामा बसेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस