आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

सुरक्षित निर्वाचनमा फरार कैदीबन्दी र लुटिएका हतियारको चुनौति

२०८२ कार्तिक २, आईतबार मा प्रकाशित ( ५ दिन अघि) २०७८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२ कार्तिक ।

सरकारले जेन जी आन्दोलनका क्रममा कारगार तोडफोड गरी भागेका कैदी–बन्दी र लुटिएका हतियारहरूका कारण चुनावी सुरक्षाका लागि चुनौती बन्न सक्ने निष्कर्ष निकालेको छ । आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति परिषद्को बैठकले यस्ता आँकलनसहित निष्कर्ष निकालेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले चुनावका लागि शान्ति र सुरक्षा सुनिश्चित गरिने बताएतापनि जेनजी आन्दोलनको मौका छोपेर फरार रहेका कैदी–बन्दी र लुटिएका हतियारहरू राजनीतिक दलले प्रयोग नगर्ने घोषणा गर्नुपर्ने बताएका हुन् । गृहमन्त्री अर्यालले लुटिएका करिब चार सय हतियार फिर्ता ल्याउन बाँकी रहेको बताउँदै फिर्ताका लागि विशेष कार्यक्रम चलाइने पनि जनाउनु भयो ।

गृह्रमन्त्री अर्यालले राजनीतिक दलहरूले पनि स्पष्ट घोषणा गरी हतियार र फरार कैदी–बन्दीहरूलाई चुनावी वा व्यवस्था विरोधी गतिविधिमा प्रयोग नहुने प्रतिबद्धता जनाउनु पर्ने धारणा राख्नु भयो । उहाँले फरार रहेका कैदी–बन्दीलाई पनि फिर्ता ल्याउने र आवश्यक निर्देशन जारी गर्ने योजनाबारे जानकारी दिनु भयो ।

सरकारले सुरक्षा फौजको सामूहिक गस्ती गरेर निर्वाचनको वातावरण निर्माण गर्ने, हतियार सम्बन्धी सूचना संकलन गर्ने र हतियार फिर्ता ल्याउने काम एकसाथ अघि बढाउने योजना तयार गरी लागु गर्ने बताउनु भयो ।

आगमी फागुन २१ गतेलाई प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको छ । सरकारले निर्वाचनको लागि व्यापक तयारी र छलफल भइरहेको बताएको छ । ‘केन्द्रीय सुरक्षा समितिको बैठक हामी धेरैपटक बसिसकेका छौँ । अघिल्लै बैठकबाटै पनि हामीले निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरू प्रस्तुत गर्न एउटा कार्यदल पनि बनाएका थियौँ ।

यस्तै गठित कार्यदलले गरेका कामको समीक्षा गर्‍यौँ । निर्वाचनको तयारीसँग सम्बन्धित रहेर त्यसै अनुसार हामीले आफू मातहतको निकाय परिचालन गर्नुपर्ने हुन्छ’, गृहमन्त्री अर्यालको भनाई छ। उहाँले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन सम्बन्धी कार्यान्वयनको जिम्मा दिने, शान्ति सुरक्षा र सुशासनलाई प्राथमिकता दिने बताउँदै त्यसमा सरकार पूर्ण क्षमतामा अगाडि बढ्ने जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस