आज: २०८२ मंसिर ९, मंगलबार | Tue, 25, Nov, 2025

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

२०८२ मंसिर ९, मंगलबार मा प्रकाशित ( २ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -९ मंसिर ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।

‘लैङ्गिक हिंसा भन्नाले मानव अधिकारको हनन हुनु वा गरिनु हो’ भन्ने विषयमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्वर १० सम्म महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान संन्चालन गर्दै मनाउने गरेको छ ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएका छन् तर पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि मात्रै महिलामाथि हुने हिंसा विरुद्धमा सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको सकृयतामा विभिन्न अभियान सुरु हुंदै आएको हो।

नेपालमा यो दिवस सन् १९९७ देखि मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही समयदेखी यस दिवसलाई प्रभावकारी बनाउन सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।

महिलामाथि हुने हिंसा विरुद्धमा व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई व्यवहारमा ल्याउनु,लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मी बिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।

नोभेम्बर २५ देखि डिसेम्बर १० का बिचमा पर्ने अन्य दुई महत्त्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियान अन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् ।विश्वव्यापी रूपमा नै महिला हिंसासँग जोडिएका सवालको उठान गर्न अन्तरक्रिया,सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना÷शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफल लगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागिता मूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१ औँ शताब्दीमा पनि पुरुषले मात्रै नभई महिलाले महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण,सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यास तथा पावर पहुँचमा हुनेले वेसहारा महिलामा हुने हेपाईका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन ।

महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसा तथा जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । यद्यपि व्यवहारमा लैङ्गिक समानतालाई स्वीकार गरिएको देखिदैन । त्यसैले यस्ता सवालमा व्यवहारमा उतार्न नसकेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई मध्यनजर गर्नु आजको आवश्यकता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस