
बिबियु, नारी वाटिका डटकम
धादिङ -२९ साउन ।
जनआस्था पत्रिकाका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्वका प्रेस काउन्सिलहरूको संस्था ९वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्स (डब्लुएपीसी)ले जनाएको छ ।
डब्लुएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले बिहिबार केन्याको राजधानी नैरोबीबाट विज्ञप्ति जारी गरी श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ताका साथ कडा आपत्ति जनाउँदै उनको तत्काल र निःशर्त रिहाइको माग गरेको हो। सम्पादक,आस्था मिडियाका अध्यक्ष एवम् प्रकाशक साथै डब्लुएपीसीका दोस्रो उपाध्यक्ष श्रेष्ठको गिरफ्तारीले स्वतन्त्र पत्रकारितामाथीको सरकारको अनावश्यक हस्तक्षेप भएको जनाइएको छ।
डब्लुएपीसीले आफ्नो एक पदाधिकारी तथा स्वतन्त्र पत्रकारलाई पक्राउ गरिएको घटनाले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताका विषयमा समेत गम्भीर प्रश्न उठाएको जनाएको छ।
त्यसैगरी विज्ञप्तिमा कथित वैयक्तिक गोपनीयतासम्बन्धी हक उल्लंघनको आरोपमा श्रेष्ठलाई ललितपुरस्थित उनको निवासबाट प्रहरीको टोलीले पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको र पक्राउपछी प्रहरीले उनको कार्यालयमा समेत छापा मारेको घटनाप्रति डब्लुएपीसीले कडा आपत्ति जनाएको हो।
डब्लुएपीसीले कुनै पनि पत्रकार वा सञ्चारमाध्यमले गोपनीयता, समाचारको शुद्धता, नैतिकता वा पत्रकारिताका अन्य पक्षसँग सम्बन्धित कानुनी तथा व्यावसायिक मापदण्ड उल्लंघन गरेको आरोप लागेमा त्यसलाई स्थापित कानुनी र नियामक प्रक्रियामार्फत सम्बोधन गर्नुपर्ने बताएको छ।
त्यसैगरी संन्चार संस्थाले वैध उजुरी वा गुनासालाई गम्भीरतापूर्वक लिनुपर्ने भए पनि लोकतान्त्रिक समाजमा त्यसको समाधान पत्रकारलाई पक्राउ गरी हिरासतमा राख्ने प्रक्रियाबाट नभई स्थापित कानुनी, न्यायिक तथा प्रेस नियमनसम्बन्धी संयन्त्रबाट खोजिनु पर्ने जनाएको छ।
‘प्रेस स्वतन्त्रता र जवाफदेहिता सँगसँगै अघि बढ्नुपर्छ,’, ‘तर कुनै प्रकाशनले व्यक्तिको अधिकार उल्लंघन गरेको आरोप लागेमा त्यसको समाधान समानुपातिक, पारदर्शी र उचित प्रक्रिया अनुकूल हुनुपर्ने डब्लुएपीसीले स्पष्ट पारेको छ ।’
यस्तै ओम्वोयोले सञ्चारमाध्यममा प्रकाशित सामग्रीका कारण पत्रकार गिरफ्तार पर्नु अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र सञ्चारप्रति प्रतिबद्ध लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। पत्रकारितामा गोपनीयता र शुद्धताको सम्मानलगायतका जिम्मेवारी रहने भए पनि त्यस्ता विषयलाई स्थापित व्यावसायिक र कानुनी संयन्त्रबाट सम्बोधन गर्नुपर्ने बताएका हुन्। पत्रकारिताको नियमन वा न्यायिक प्रक्रियाको विकल्पका रूपमा हिरासतलाई प्रयोग गर्न नहुने उक्त विज्ञेप्तिमा स्पष्ट पारिएको छ।
साथै श्रेष्ठको गिरफ्तारीप्रति नेपालको राजधानी काठमाडौंमामा पनि पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाहरूले विरोध तथा प्रदर्शन गरिरहेको विषयलाई समेत डब्लुएपीसीले विज्ञप्तिमा लेखेको छ। पत्रकार र सञ्चार संस्थाहरूको विरोधले घटनालाई नेपालको सञ्चार क्षेत्रले गम्भीर रूपमा लिएको देखाउने भन्दै डब्लुएपीसीले नेपाल सरकार तथा कानून कार्यान्वयन निकायलाई गम्भीर ध्यानाकर्षण गराएको हो ।
साथै यसरी पत्रकारको गिरफ्तारीले सञ्चार क्षेत्रमा भय र दबाबको वातावरण सिर्जना गर्न सक्ने भएकाले स्वतन्त्र पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ। नेपाल सरकार, नेपाल प्रहरी तथा सम्बन्धित सबै निकायसमक्ष श्रेष्ठलाई तत्काल रिहा गरी निरन्तर हिरासतमा राख्नुपर्ने कानुनी आधार भए मात्र त्यसबारे स्पष्ट प्रक्रिया अपनाउन, उनीविरुद्धको अनुसन्धान वा उजुरीलाई पारदर्शी, निष्पक्ष र उचित प्रक्रियाबाट अघि बढाउन डब्लुएपीसी विज्ञेप्ति मार्फत उल्लेख गरेको छ। 












प्रतिक्रिया दिनुहोस