
बिबियु,नारी वाटिका डट्कम
धादिङ- २२ कात्तिक ।
तिहारको तेस्रो दिन आज अहिले बिहान कुकुर पुजा गरी कुकुरलाई मिठो खानेकुरा खुवान्छ । साथै आजै एकै दिन लक्ष्मी पुजाको तिथि परेकोले बेलुकी साँझ धनधान्यकी देवी लक्ष्मीपूजा गरी मनाइँदै छ।
यस वर्षको तिथि घटबढका कारण आजै दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले शास्त्रीय मान्यता अनुसार एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरेको जानकारी दिएको हो।
अहिले बिहान यमराजको दूत मानिने कुकुरको पूजा गरिँदैछ भने आजै साँझ धनधान्यकी देवी महालक्ष्मीको पुजा आराधना गरी दीपावली गरिँदैछ।
कुकुरलाई केवल एउटा पशुका रूपमा मात्र नहेरिएर यमराजको दूत र भैरवको वाहनका रूपमा पूजा गर्ने गरिन्छ।
धार्मिक एवं् पौराणिक मान्यता अनुसार यमलोकको ढोकामा चार वटा आँखा भएका ‘श्यामा’ र ‘सबला’ नामका दुई वटा कुकुरले पहरा दिइरहेका हुन्छ र मानिसको मृत्युको समय आएपछी यमराजलाई तिनै कुकुहरूले नै खबर गर्छन् भन्ने विश्वास छ । कुकुरलाई प्रसन्न राख्न सके यमलोक जाँदा कडा सजाय भोग्नु पर्दैन र मृत्युको भय हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ ।
तर पछिल्ला समयमा हाम्रो समाजमा विभिन्न सोचका मानिसहरु छन् । कसैले तिहारमा मात्रै नभई अघिपछी पनि कुकुरको माया गरी खान दिने गर्दछन् भने कतिपयले कुकुरलाई आफ्नो घर वरपर आयो भनेपनि तातोपानी खनाइदिने र कुटपिट गरी लखेटेने गर्दछन् ।
महाभारतमा उल्लेख भएअनुसार जब पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ प्रस्थान गर्दा बाटोमा एक एक गरी सबै ढल्छन्। तर अन्तिममा धर्मराज युधिष्ठिर र उहाँहरुसँगै पछीपछी हिडेको एउटा कुकुर मात्र जीवित रहन्छन्।
त्यसपछी स्वर्गको ढोकामा पुगेपछि देवराज इन्द्रले युधिष्ठिरलाई मात्र स्वर्गभित्र छिर्न अनुमति दिई कुकुरलाई बाहिरै छोड्नु भनेपछी युधिष्ठिरले आफ्नो सङ्कटको साथीलाई छोडेर आफू मात्र स्वर्ग नजाने अडान लिनुहुन्छ। युधिष्ठिरको यस्तो धर्म र वफादारिता देखेर त्यो कुकुर वास्तविक रूपमा नै प्रकट भई जो स्वयं ‘धर्मराज’ (यमराज) आफै हुनुहुन्थ्यो।
त्यसैगरी आज तिहारको विशेष दिन लक्ष्मीपूजा गर्न घर वरपर झिलीमिली बत्ती वालेर उज्यालो पारिन्छ। कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ। पौराणिक कालमा जब देवता र असुर मिलेर अमृत प्राप्तिका लागि क्षीरसागरमा समुद्र मन्थन गर्ने क्रममा कात्तिक कृष्ण औँसीकै दिन समुद्रबाट जगत्जननी देवी महालक्ष्मी प्रकट हुनु भएको थियो ।
लक्ष्मी प्रकट भएपछि देवताले उहाँको स्वागतमा दीप प्रज्वलन गर्दै चारैतिर झिलीमिली उज्यालो पारेर पूजा आरधना गरेका थिए। त्यसै बेलादेदी सनातनी धर्मालम्बीहरुले लक्ष्मी पुजाको दिन लक्ष्मीको जन्मोत्सव र आगमनको खुसियालीमा दीपावली गरी धन,एस्वर्य,सख,सान्ति एवं् घरमा लक्ष्मीलेसंधै वास गरुन् भनेर पुजा आरधना गर्ने गरिएको हो ।
नेपाल पञ्चाङ्ग समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा र म्हपूजा गरिने छ भने यसै दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ । तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइटीका परेको छ। उक्त दिन बिहान ११ बजेर ७ मिनेटको समयमा भाइटीकाको लागी शुभसाइत उत्तम मानिएको छ।












प्रतिक्रिया दिनुहोस