आज: २०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

२०८१ पौष २८, आईतबार मा प्रकाशित ( १ साल अघि) ७१३१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २८ पुस ।

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको कारण कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। आज तराईका केही भागमा हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना विभागले जनाएको छ।

पछिल्लो समयमा चिसो बढेको र केही स्थानमा हिमपातको कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस