
बिबियु,नारी वाटिका डट्कम
धादिङ -४ मंसिर ।
नेकपा (एमाले)को राष्ट्रिय भेला बिहीबार राजधानीमा सम्पन्न गरेको छ। बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको उद्घाटनपछी दुई दिनसम्म भेला आयोजना गरी २१ बुँदे विशेष प्रस्ताव तथा संकल्प पारित गर्दै कार्यक्रम सम्पन्न गरेको हो।
उक्त राष्ट्रिय भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी सा गर्ने, आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक मर्मलाई फिर्ता ल्याउन आन्दोलनको तयारी गर्ने संकल्पसहित कार्यक्रम सम्पन्न गरेको छ।
एमालेले प्रतिकूल बन्दै गएको पछिल्लो राजनीति परिस्थितिमा राष्ट्रिय हितको संरक्षण, लोकतन्त्र र संविधानको रक्षा तथा जनसरोकारका विषयमा सार्थक संवाद, सहकार्य र जनदबाबका लागि सबै देशवासी, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, सचेत नागरिक एवं बौद्धिक समुदायलाई आह्वान पनि गरेको छ।
भण्डै ३५ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको राष्ट्रिय भेलामा शीर्ष नेताहरूले विशेषगरी देशमा पछिल्लो राजनीतिक विषयमा प्रभाकारी प्रशिक्षणमूलक सम्बोधन सहित अध्यक्ष केपी शर्मा ओलीले ‘हालको दुई कार्यभार र गर्नुपर्ने १५ काम’का सम्बन्धमा सहभागीहरूलाई मार्गनिर्देशन गरिएको थियो ।
यस्तै ,पार्टीमा वरिष्ठ नेताको रुपमा यसै वर्ष प्रवेश भएकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने संकल्प गरौँ’ विषयमा धारणा राखेकी थिइन्। त्यसैगरी भेलामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’,उपाध्यक्ष विष्णु पौडेल, र महासचिव शंकर पोखरेलले ‘‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि संकल्प गरौँ’, सहित पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीका बारेमा सम्बोधन गरेका थिए।
‘एमालेको उक्त निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्षहरु, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको सहभागिता रहेको थियो।












प्रतिक्रिया दिनुहोस