आज:  | Thu, 02, May, 2024

ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम

११ माघ २०७८, मंगलवार १२:५६ मा प्रकाशित ( २ साल अघि) ३२१ पाठक संख्या
नारी बाटिका


धादिङ – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ भेरियन्ट बन्ने जोखिम रहेको बताउनुभयो । ओमिक्रोनबाट उत्परिवर्तन भएर आउनसक्ने भेरियन्ट ओमिक्रोन भन्दा घातक जटिल हुन सक्ने रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गर्नुभयो ।

डा. पौडेलले भाइरसमा छिटो छिटो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन हुने भएकोले ओमिक्रोन कमजोर भयो डेल्टा भेरियन्टलाई बिस्थापित गरो भनेर ढुक्क हुन नहुने बताउनुभयो ।
विश्वव्यापी रुपमा अध्ययन गर्दा कोभिड–१९ को महामारी यतिमै सिमित रहने तथ्य स्पष्ट भइनसकेको उहाँले बताउनुभयो । अर्को भेरियन्ट यो भन्दा कडा आएमा मात्र ओमिक्रोन विस्थापित हुने उहाँको भनाई छ ।

‘विश्वव्यापी तथ्यांकहरुले ओमिक्रोन एकदमै छिटो विगत दुई महिनाको अवधिमा संसारका अधिकांश मुलुकमा फैलिएको र डेल्टालाई विस्थापन गरेको भन्ने जुन तथ्य छ । त्यो सँगसँगै हामीले के बुझ्नुपर्छ भने ओमिक्रोनको नाममा डेल्टालाई विस्थापन गरेपनि यो भाइरस जति धेरै फैलिन्छ, जतिधेरै स्थानमा, धेरै व्यक्तिहरुमा पुग्छ, नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ । जस्तो डेनमार्कको पछिल्लो अध्ययन हामीले हेरो भने यसको पनि सबलिनियज विकास भइसकेको भन्ने छ । किनभने भाइरस निरन्तर विकास भइराख्ने हो । आफ्नो सर्भाइभलको लागि यसले आफ्नो उत्परिवर्तन अथवा आनुवांशिक परिवर्तन गर्छ । त्यो हिसाबले ओमिक्रोन भन्दा पछि आउने भेरियन्ट दुईवटा प्रकारका हुनसक्छन् । एउटा यो भन्दा जटिल हुनसक्छ । कडा हुनसक्छ । अथवा यो भन्दा कमजोर हुनसक्छ । कमजोर हुँदै गयो भने त हामीले सोछे जस्तो भयो । तर अहिलेकै अवस्थामा कसैले पनि ग्यारेन्टी साथ यो पछि आउने भेरियन्ट यो भन्दा कमजोर नै आउँछ भन्ने ग्यारेन्टी दिन सक्ने अवस्था छैन ।
त्यसकारण विश्व स्वास्थ्य संगठनले पनि यो एन्ड अफ प्यान्डामिक भन्ने बेला भएको छैन । जोखिम कायम नै छ । नयाँ नयाँ भेरियन्ट आउने जोखिम कायमै छ भनिरहेको अवस्था छ । बास्तवमा यथार्थ पनि यही नै हो । ओमिक्रोनमै गएर यो महामारी सिमित हुन्छ भन्ने तथ्य अझै स्पष्ट भइसकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस