आज:  | Thu, 02, May, 2024

कमसेकम सुत्केरी आमा र नवजात शिशुलाई भएपनि कतै सुरक्षित स्थानमा सार सरकार ?

१२ मंसिर २०८०, मंगलवार १३:३१ मा प्रकाशित ( ५ महिना अघि) ३४८ पाठक संख्या
नारी बाटिका


जाजरकोट,१२ मंसिर।

(लैंगिक हिंसा बिरुद्धको १६ दिने दिवस मनाई रहदा जाजरकोटका ११ सय सुत्केरीको कारुणिक अवस्था’)

जाजरकोटमा  सुत्केरी आमा तथा नवजात शिशु त्रिपालमुनी रात बिताउँदै जिउने आशामा दिन गुजार्दैको कारुणिक अबस्थामा छन् । देशैभर लैंगिक हिंसा बिरुद्धको चर्चा चलि रहंदा जाजरकोटमा भने करिब ११ सय सुत्केरी आमा तथा नवजात शिशु त्रिपालमुनी रात बिताउन वाध्य छन् ।

यतिबेला देशैभर महिलाको हक,अधिकार र न्यायको कुरा गर्दै लैंगिक हिंसा बिरुद्धको अभियानले हिंसा अन्त्यको लागी सहयोग पुर्‍याओस भनि सचेतनामुलक कार्यक्रम गर्दै दिवस मनाईंरहेको अबस्थामा जाजरकोटका सुत्केरी महिलाको भने हरी बिजोग देखिएको छ ।

सबै प्रकारको महिला अधिकारको कुरा गर्दै अहिले देशव्यापी रुपमा मनाईने महिला माथीको हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेछ । तर भुकम्प प्रभाबित मातृशिशुको स्वास्थ्य अधिकारमाथी कसैको ध्यान गएको छैन । सुत्केरी अबस्थामा महिलाले पाउनु पर्ने स्यार सुसार,हेरचाह,तातोपिरो तथा पोषिलो खानेकुरा बाट बन्चित भएका छन् ।

हेरचाह त परै जाओस न्यानो कपडा तथा छानामुनी रात काटन पनि पाएका छनन्उनिहरुले’ । तर राज्यले चाहने हो भने भुकम्पबाट पभावित सबैलाई नसकेता पनि सुत्केरी मातृशिशु,अशक्त,अपांगता,बृद्ध वृद्धाहरुलाई कुनै सरकारी खाली भवनहरुमा राख्न पनि सक्थ्यो ?  गएको कात्तिक १७ गते रातीको भुकम्पले घर भत्काएर सुत्केरी तथा गर्भवती महिलाहरुलाई खुल्ला आकाशमुनि त्रिपालमुनि रात काटनु परेको अबस्था छ ।

गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका हुन् ।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्प पीडितको चिसोका कारण आजसम्म १५ जनाको ज्यान समेत गएको छ भने १ सुत्केरी आमाले ज्यान गुमाई सकेकी छिन् । भूकम्पबाट घरबारविहीन भएका सर्वसाधारण मौसम अनुकूल नहुँदा बिरामी पर्न थालेका छन् ।

भुकम्प पिडितहरु बिरामी पर्न थालेपछी त्यहाँका स्वास्थ्य संस्थामा उपचारका बिरामीको भीड नै लागेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । बयालीस जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ जना घाइते भएका थिए ।

पाँच वर्षमुनिका चार हजार एक सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने छ सय ७४ गर्भवती, दुई सय ८२ सुत्केरी, दुई हजार आठ सय ३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपाङ्गता भएका व्यक्तिहरु सहित नौ हजार तीन सय ८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा परेका छन् ।

साथै त्यस क्षेत्रका स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिक रूपमा भत्किएको पाइएको छ ।

उक्त भुकम्पबाट कुशे गाउँपालिकामा २५ हजार आठ सय १५ जनसङ्ख्या प्रभावित भएका थिए । सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।

पाँच वर्षमुनिका दुई हजार नौ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने पाँच सय १५ जना गर्भवती, दुई सय ३० सुत्केरी, नौ सय २० ज्येष्ठ नागरिक, दुई सय ७७ दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित चार हजार नौ सय ७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिक रूपमा भत्किएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार छेडागाड नगरपालिकामा एक हजार तीन सय ५२ जनसङ्ख्या प्रभावित भएका थिए । एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए ।

पाँच वर्षमुनिका तीन सय ७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, दुई सय चार ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपाङ्गता भएका सहित सात सय ४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । आठवटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएको पाइएको छ ।

भूकम्पबाट एक लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार दुई सय छ रहेको छ । पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् ।

त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।

साथै उक्त क्षेत्रको एकिन विवरण अझै सङ्कलन हुन बाँकी रहेको जनाईएको छ । मङ्सिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन ।

पालिकाले भने मङ्सिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखहरुले बताएका छन् ।

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन् । अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। स्रोत : रासस

तस्वीर :अनलाईन खबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%

प्रतिक्रिया दिनुहोस