आज:  | Mon, 29, Apr, 2024

त्रिवि उपकुलपति नियुक्तिका विषयमा विदादले चर्को रुप लियो

८ फाल्गुन २०८०, मंगलवार १७:२३ मा प्रकाशित ( २ महिना अघि) ५६५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ८ फागुन ।

त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपति नियुक्तीका विषयलाई लिएर विदादले चर्को रुप लिएको छ । हिजो (सोमबार) रातिबाट सामाजिक सञ्जालमा प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त भएको भन्दै बधाई आउन थालेपछी यस विषयले विवाद चर्किएको हो। बुढाथोकीका निकट व्यक्तिहरूले उहाँ उपकुलपतिमा नियुक्त भएको भन्दै शुभकामना दिँदै सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नै यस विषय हालसम्म आधिकारिक नरहेको प्रष्टीकरण दिनु भएको छ । आज प्रधानमन्त्री प्रचण्डलाई भेट्घाट्मा गएका गोरखा पत्रकार समाजको नवनियुक्त प्रतिनिधिमण्डलसँग उहाँले सो कुरा बताउनु भएको हो। भिसी नियुक्तिबारेको सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भन्नु भयो यसमा देवेन्द्रजीले हतार गर्नु भयो तर भिसी नियुक्ति गरिएको छैन, नियुक्त हुने प्रक्रियामै छ।’

प्रधानमन्त्री दाहालका अनुसार सोमबार राति माओवादीका नेता देवेन्द्र पौडेलले प्रा.डा. चित्रबहादुर बुढाथोकी उपकुलपति नियुक्त भएको भन्दै सामाजिक सञ्जालमा बधाई दिएपछि सोही आधारमा बुढाथोकीलाई बधाई दिनेको ओइरो लागेको थियो। बागलुङ जिल्लामा जन्मीएका बुढाथोकी र पूर्व शिक्षामन्त्री रहेका पौडेल बागलुङका सांसद हुन् ।

नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति पदमा नियुक्तिका लागि गत आइतबार १४ जनाको नाम सर्ट लिष्टमा सार्वजनिक भएका मध्ये अन्तरवार्ता सकिए लगत्तै १ नम्बरमा प्रा.डा.चित्रबहादुर बुढाथोकी, दोस्रोमा प्रा.डा.केशरजंग बराल र तेस्रो नम्बरमा प्रा.डा.टंकनाथ धमलाको नाम प्रधानमन्त्री एवं त्रिविका कुलपति कहाँ सिफारिस गरेको थियो ।

उक्त समितिले सिफारिस गरेको नामका आधारमा कार्यविधिले तय गरेको १०० नम्बर मध्ये बुढाथोकीले ७८ नम्बर, बरालले ७६ नम्बर र धमलाले ७५ अंक प्राप्त गरेका छन्। नम्बरका आधारमा भन्दा पनि त्रिविकै माओवादी निकट प्राध्यापकहरूको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर माओवादी निकट मानिएका बराललाई उपकुलपति बनाउन दबाव दिएका छन् ।

त्यसैगरी प्रधानमन्त्री दाहालले पनि बराललाई नै उपकुलपति नियुक्त गर्न चाहनु भएको छ । तर पूर्व शिक्षामन्त्री पौडेलले भने १ नम्बरमा सिफारिस भएका बुढाथोकीलाई उपकुलपति नियुक्त गर्नुपर्ने अडान लिएको स्रोतले जनाएको छ। बुढाथोकीले यतिवेला धेरै जनाबाट फोन गराउन लगाइरहेको बताइएको छ। भिसी नियुक्त भएको भन्नेबारे बुझ्न सम्पर्क गर्दा उनी सम्पर्कमा आउन नचाहेको बताइएको छ ।

प्राप्ताङ्क सार्वजनिक गरेपछि विभिन्न टीकाटिप्पणी हुन थालेको छ । कतिपयले नम्बरमा मेरिटको आधारमा बुढाथोकीलाई नियुक्त गर्नुपर्ने बताइरहेका छन् भने कतिपयले बराल र धमलालाई नियुक्त गर्नुपर्ने बताएका छन् । यस हिसाबले पनि विवाद चर्किएको हो ।

शिक्षा मन्त्रालयका अनुसार आज भिसी नियुक्त गर्ने तयारी गरिएको बुझिएको छ। ‘अहिले विभिन्न अनलाइन मिडियामा भिसी नियुक्त भइसकेको भन्ने हल्ला चलिरहेको पनि छ, त्यो सत्य होइन,आज चाहिँ नियुक्त गर्ने भन्ने तयारी भएको जनाईएको छ । अब कसलाई हुन्छ भन्न सकिँदैन’, मन्त्रालयको प्रतिक्रिया रहेको छ ।

गत कात्तिक १६ गतेबाट विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको पदावधि सकिएसँगै भिसी पद खाली छ। कार्यवाहक उपकुलपति प्रा.डा.शिवलाल भुसालले चलाइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस