आज:  | Mon, 06, May, 2024

नमुनाको रूपमा रहेको कर्णाली पुलमा आगलागीबाट ‘सपोट’ डोरीमा क्षति पुग्दा आवागमन बन्द

२९ फाल्गुन २०८०, मंगलवार ०८:१९ मा प्रकाशित ( १ महिना अघि) १९० पाठक संख्या
नारी बाटिका


लम्की २९ फागुन ।

एसियाकै नमुनाको रूपमा रहेको कर्णाली नदीस्थित पुलमा आगलागी हुंदा सपोट’ डोरीमा क्षति पुर्याएको छ । शोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधनको आवागमन बन्द गरिएको हो । उक्त पुलमा आगलागी भएको कारण केही क्षति भएपछी हिजो प्राविधिकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने नेपालगञ्जस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । आगलागीबाट पुलको १४ वटा मुख्य ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको विशेषज्ञको टोलिले पुष्टी गरेको छ ।

तत्कालका लागि उक्र पुल हुदै गरिने यातायात आवागमन बन्द गरिएको नेपालगञ्जमा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यलयका अनुसार उक्त घटनापछी ईन्जिनियरका टोलीहरु घटनास्थलमा राति नै पुगिसकेका थिए । यसैगरी आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली समेत सो क्षेत्रमा जाँदैन्छ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेको कार्यलयले जानकारी दियो ।

उक्त कर्णाली पुलबाट सवारी आवागमन बन्द भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरीले जनाएको छ । काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न अनुरोध गरिएको जनाएको छ ।

सो पुलमा गाडी गुडीरहेकै अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो । उक्त घटनापछी लम्कीचुहा,टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन चार घण्टा लागेको थियो । त्यसपछी राति ९ बजेतिर आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ । आगो नियन्त्रणमा आएसंगै जलेको ट्रकसमेत राति नै लम्कीचुहा नगरपालिकाको डोजर प्रयोग गरी हटाउन सफल भएको हो ।

आइतबार अपराह्न वीरगन्जबाट लाइटर एक हजार एक सय कार्टुन लिएर हिँडेको ट्रक सोमबार अपराह्न कर्णाली पुलमा लाईटर पड्किएर आगलागी भएको थियो ।
उक्त सडक हुदै पुलसम्म रहेका पछाडीका गाडी चालकहरुले कर्णाली पुलमा पुग्दा पुलमा भिडियो बनाइरहेका एक युवकले कराउँदै अङ्कल ट्रकमा आगो आगो भन्दै चिच्याउँदा तल झरेर हेर्दा पछाडि आगो लागेको थाहा भएपछी उनीहरु आत्तिएको बताएका थिए । आगलागी भएको ट्रकका पछाडि बस भएकाले आगलागी भएको ट्रकलाई पछाडी ब्याक गर्न समेत समस्या भएको थियो ।

आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको र आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट रु एक करोड १५ लाख ६८ हजार बराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । उक्त ट्रक चालकका अनुसार कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानी बापत बुझेको नगद रु ५७ हजार पनि जलेको डिभिजन कार्यलयलाई जानकारी दिएका छन् । नगद र सामान गरी रु एक करोड १६ लाख २५ हजार बराबरको क्षति भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

एसियाकै नमुना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको थियो । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका लम्कीचुहा नगरपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस