आज:  | Sat, 27, Jul, 2024

गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश‚अर्को सुनुवाइ असार ४ मा हुने

२८ जेष्ठ २०८१, सोमबार १९:२२ मा प्रकाशित ( १ महिना अघि) २६३ पाठक संख्या
नारी बाटिका


काठमाडौं २८ जेठ ।

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइपछि मिसिल झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि आवश्यक मिसिलहरू झिकाउने आदेश दिएको हो।

सर्वोच्च अदालतका सह(प्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त मुद्दामा जितेन्द्रबाबु राई (जिबी राई) समेत भएको सहकारी ठगी प्रकरणको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिइएको छ।

यसअघि यही जेठ २० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आजका लागि छलफलमा बोलाएको थियो। सहकारीको रकम अपचलनमा संलग्न रहेको दावी सहित अधिवक्ता अनुपम भट्टराईले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन समेत माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए।

सो मुद्धामाथी यही जेठ ९ गते न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गृहमन्त्री लामिछाने विरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै रिट दर्ता गर्न आदेश गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस