आज:  | Sat, 27, Jul, 2024

आज राष्ट्रपति पौडेलका साथमा प्रतिनिधिमण्डल सहित स्विट्जरल्याण्ड जाँदै

२९ जेष्ठ २०८१, मंगलवार ०८:१४ मा प्रकाशित ( १ महिना अघि) २९९ पाठक संख्या
नारी बाटिका


काठमाडौं २९ जेठ ।

राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै हुनुहुन्छ । ११२ औँ उच्चस्तरीय अन्तर्राष्ट्रिय श्रम सम्मेलनको सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नु भएको हो ।

पर्सी जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँले यही जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्न कार्यक्रम रहेको छ ।

नेपालका राष्ट्र प्रमुख र स्विस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलो पटक हो। यस भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने भ्रमण तालिका रहेको परराष्ट्र मन्त्रालयलका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जनाउनु भयो।

उहाँले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नु भएको हो । राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्ने समेत परराष्ट्र मन्त्रालयले जनाएको छ।

विश्व समुदायको साझा मञ्चमा नेपालका राष्ट्र प्रमुखले आफ्ना विचार राख्न पाउने अवसर देश र जनताका लागि महत्वपूर्ण अवसर भएको बताइएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आईएलओको सम्मेलनमा मुख्य वक्ताका रुपमा राष्ट्रपतिलाई आमन्त्रण गरिनुले संयुक्त राष्ट्रसंघले सामाजिक न्यायको कार्यसूचीलाई हाम्रो संविधान र संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रले पूर्ण रुपले आत्मसात् गरेको विषयलाई अन्तर्राष्ट्रियजगतमा स्थापित गरेको रूपमा बुझ्नुपर्ने बताएका छन् ।

कार्यक्रममा राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनु हुनेछ ।साथै प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि रहनेछन्। साथै भ्रमणको कार्यसुचि अनुसार राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस