
नारी बाटिका
काठमाडौँ २ असार।
सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा सहित ४जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा उक्त सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार,सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् । अध्यक्ष तेजविक्रम थापा भने तनहुँमा राजनितिक क्षेत्रका पनि सकृय नेतासमेत हुन् ।
थापा २०५६ सालदेखि उक्त सहकारीको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेको बताइएको छ । उनले अस्पताल, टेलिभिजन लगायत अन्य विभिन्न व्यावसायिक कम्पनीमा समेत लगानी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
यसैगरी यसअघि पनि थापा बैंकिङ कसुरका ५ वटा मुद्दामा समेत कसुर ठहर भई फरारको सूचीमा परेका थिए । उपत्यका अपराध महाशाखाको टोलीले उनीहरूलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो ।
ललितपुरको कुमारीपाटीमा रहेको यो सहकारीको नाम संसदीय छानबिन गर्न बनेको समितिको कार्यादेश (टीओआर)मा पनि उल्लेख गरिएको छ । समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २९ सहकारी संस्थाको सूचीमा यो सहकारीको नाम रहेको छ ।
सहकारीको बचत हिनामिना गरेको खुलासा भएपछी ५६६ जना बचतकर्ताले उनीहरू विरुद्ध दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो । सहकारीका एकाउन्टेन थापा सहित उनीहरु चार जनाको मिलेमतोमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यस सहकारीमा २अर्ब ८० करोड निक्षेप रहेको थियो । प्रहरीले उनीहरूको साथबाट मोबाइल, पेन ड्राइभ, केही चेक, गाडी र गोर्खा टिभीको परिचयपत्र लगायतका सामानहरु समेत बरामद गरेको छ ।








प्रतिक्रिया दिनुहोस