
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिड- ११ भदौ ।
आज भाद्र शुक्ल चतुर्थी । सनातन धर्मावलम्बी बुधबार भगवान् गणेशको जन्मदिन विशेष पुजा आरधना गरी मनाउँदै छन्। शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको छ।
सबै काममा आएका बिघ्न वाधाहरु हटाउने अर्थात् बिघ्नहर्ताका रूपमा भगवान् गणेशलाई पुज्ने गरिन्छ। हिन्दूधर्ममा गरिने सम्पूर्ण पूजा आराधना सुरु हुनु पहिले भगवान गणेश जीको पूजा गर्नु पर्ने मान्यता रहेको छ । पहिले गणेशको पूजा नगरी कुनै पनि धार्मिक कार्य सुरु गरिएमा त्यस कार्यमा विघ्न वाधा पर्ने जुन मनोकामनाले पुजा आजा गरिन्छ त्यो पुरा नहुने भन्ने विश्वास छ।
भगवान गणेशको ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले उहाँलाई पुजिन्छन्।
पार्वतीका मायाँले मानव आकृतिमा जन्मिएका गणेशलाई पिता शिवले कुनै वेला आफ्ना छोरा हो भनेर नचिन्दा टाउको काटिदिएको र पछि हात्तीको टाउको जोडिएको प्रसंग पुराणमा उल्लेख छ भने अर्को तर्फ जन्मिने बित्तिकै शनिको दृष्टि पर्दा शिर गायब भएको र हात्तीको टाउको गाँसिएको पनि उल्लेख छ।
गणेशको पुजा आरधनाको लागी आज सूर्यविनायक, चन्द्रविनायक, जलविनायक, चारुविनायक, अशोकविनायक, मरुविनायक र कमलविनायक लगायत काठमाडौँ उपत्यकाका गणेश मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लाग्ने गर्दछ।
भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता छ। आजको रातमा चन्द्रमा हेरे चोरीको दोष लाग्ने विश्वास गरिन्छ। तर यस पटकमा भने चतुर्थीको चन्द्रमा मंगलबार नै थियो। पुराणमा उल्लेख भए अनुसार गणेशले नै यो दिन चन्द्रमाको दर्शन गर्न नहुने श्राप दिएका हुन्।
नेवार समाजमा यो दिनलाई चथाः भनिन्छ। तराई(मधेशमा पनि चौठचन्द्रका नाममा यो पर्व ठूलो महत्त्वका साथ मनाइन्छ।








प्रतिक्रिया दिनुहोस