आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

सरकारले एक लाखसम्मका सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्दै

२०८२ मंसिर ७, आईतबार मा प्रकाशित ( ५ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

काठमाडौँ ७ मंसिर ।

निति र नियममा रहेर काम गर्ने सहकारी संस्थाहरुले राम्रो गरेको भएतापनि देशका केही सहकारीले लापर्वाही र बचत हिनामिना गर्नाले त्यस्ता सहकामा आवद्ध भएकाहरुको बचत रकम नै जोखिममा परेको थियो ।

सोही कारण विगतदेखीने पिडितहरुले सरकारसंग हारगुहार मागीरहेको हो । त्यस्ता सहकारीमा डुबेका पिडितको राहतको लागी सरकारले सहकारीमा एक लाख तथा सो भन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ।

भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्न कार्यविधि तयार पारेको छ। सानो रकम फसेका पीडित नागरिकलाई चक्रीय कोष बनाएर रकम फिर्ता गर्ने गरी कार्यविधि तयार गरी अर्थ मन्त्रालयमा पठाइएको हो।

अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृति भएपछि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् लैजाने र त्यहाँबाट अनुमोदन भएपछि पीडितलाई बचत फिर्ता गरिने मन्त्रालयका सहप्रवक्ता दामोदर वाग्लेले जानकारी दिए।

सहप्रवक्ता वाग्लेका अनुसार पीडित परिवारलाई राज्यको प्रत्याभूति दिलाउन कम बचतकर्तालाई पहिलो चरणमा छिट्टै रकम फिर्ता गरिने भएको हो ।

अर्थ मन्त्रालयले निश्चित रकम बीउ पुँजीका रूपमा चक्रीय कोषमा जम्मा गर्ने समेत जनाएको छ। त्यसबाट समस्याग्रस्त भएका सहकारीका बचतकर्तालाई रकम उपलब्ध गराइने गरी कार्यविधि बनाएको हो। समस्याग्रस्त सहकारीका सम्पत्ति लिलाम गरी त्यसबाट आएको रकम पुनः सोही कोषमा जम्मा गर्दै आर्थिक स्रोत व्यवस्थापन गरिनेछ।

निकै अघिदेखी पीडित बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन्। देशभर करिब ३४ हजार सहकारी संस्था सञ्चालनमा छन्। सहकारीहरु तीन तहका सरकार मातहत अलग अलग दर्ता रहेकाले नियमनमा समस्या छ। पीडितले आफ्नो रकम फिर्ता पाउन तथा ठगी गर्ने सञ्चालकलाई कारबाहीको माग गर्दै आएका ।

समुदायमा सहकारीको आदर्श तथा सिद्धान्तमा आधारित भएर सहकारी सदस्यको हितमा क्रियाशील सहकारी संस्थाहरूले राम्रो प्रगति गरेका छन् भने सिद्धान्त र निति विपरीत बचत संकलन गरी कर्जा प्रवाह गर्ने अधिकांश सहकारी समस्यामा देखिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस