आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

जेनजी आन्दोलन रिपोर्ट,७७ जनाको मृत्यु, दुई हजार ४२९ घाइते,५४ जिल्ला प्रभावित

२०८२ मंसिर २६, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) १९८५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ २६ मंसिर ।

गत भदौ २३ र २४ मा जेनजी आन्दोलनमा भएका क्षतिको प्रतिवेदन तयार भएको छ । करिव साँडे दुई महिना लागायर अनुसन्धान गरी तयार गरिएको प्रतिवेदनमा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की समक्ष पेस गरेको हो।

समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जेनजी आन्दोलनमा देशभरमा भएका सम्पुर्ण क्षति सम्वन्धमा प्रतिवेदन तयार गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते गठन भएको थियो । समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो।

जाँचबुझ समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको उल्लेख गरेको छ । जेनजी प्रदर्शनका क्रममा ५४ जिल्ला र स्थानीय तहमध्य २६२ रहेका छन्। प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाको ज्यान गएको उल्लेख छ।

साथै आन्दोलनमा दुई हजार ४२९ जना व्यक्तिहरु घाइते भएकोमा १७ जना १३ वर्षमुनिका छन् भने १३ देखि २८ वर्षसम्मका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी भौतिक क्षति तर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको क्षति भएको समितिको मूल्याङ्कन छ। जसमध्ये प्रभावित सरकारी निकाय,संस्था दुई हजार १६८ छन्। दुई हजार ६७१ भवनमा क्षति पुगेको छ। जसमा क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख बराबर रहेको छ।

त्यस्तै सवारीसाधन तर्फ १२ हजार ६५९ वटा मा क्षति पुग्दा १२ अर्ब ९३ लाख ६१ हजार बराबरको नोक्सान हुन पुगेको खुलाइएको छ। सरकारी र सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख बराबरको क्षति पुगेको हो।

यसका साथै निजी क्षेत्र तर्फको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख बराबर छ। सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा खुलाइएको छ।

सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ। समितिले पुनःनिर्माण कार्ययोजना पनि प्रतिवेदनको साथमा पेश गरेको छ। पुनःनिर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख बराबरको आवश्यक पर्ने प्राथमिक बजेटको अनुमान गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस