आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

बैंक रहेकै घरधनी मिलेर नेपाल एसबिआई बैंक लुटपाट गर्ने ७ जना पक्राउ

२०८२ माघ २, शुक्रबार मा प्रकाशित ( २ दिन अघि) १३३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सिन्धुली -२ माघ ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटार बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखा बसेको घरधनी कै मिलेमतोमा बैबंबाट ठुलो परिणाम नगद लुटिएको छ । उक्त बैंकबाट लुटपाट गर्ने घटनामा संलग्न लुटेराहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने लुटेराहरूमा काभ्रेपलाञ्चोक साविक उग्रतारा जनगाल गाविस–२ हाल बनेपा नगरपालिका–१० बस्ने ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका–२ घर भएका ४७ वर्षीय चतुरमान बज्यू, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी रहेका छन् ।

त्यसैगरी सोही गाउँका १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख गाउँपालिका–२ कै ४४ वर्षीय छविलाल स्याङ्तान र १६ वर्षीय एक बालक रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । प्रहरीका अनुसार घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान बैंक रहेको घरधनी हुन् ।

प्रहरीका अनुसार गत पुष २९ गते राति ६ जनाको समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गर्दा उनी सामान्य घाइते भएका थिए । त्यसपछि बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकमा रहेको ३ करोड ७ लाख रुपैयाँ नगद लुटी लुटेरा फरार भएका थिए ।

घटनापछि जानकारी पाएको प्रहरी टोलीले मंगलबार राति र बुधबार दिनभर गरी कुल २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । साथै घटनामा प्रयोग भएका खुकुरी २ थान, नक्कली प्लास्टिक पेस्तोल १ थान, मोबाइल ५ थान, ठूलो पानी टेप १ थान, कालो र रातो रङका गरी ४ थान नकाब तथा कालो पञ्जा १ जोर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिनु भयो।

इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थलमा पुग्दा बैंकका कर्मचारी र सुरक्षा गार्डलाई दुई कोठामा हातखुट्टा बाँधिएको र मुखमा टेप टाँसिएको अवस्थामा फेला पारी तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसपछि फरार लुटेराहरूको खोजी तथा पहिचानका लागि सम्भावित नाकामा प्रहरी परिचालन गरिएको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो । प्रहरी तथा स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा बाग्मती प्रदेश ०३–०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंह थापालाई नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानका क्रममा पुष २९ गते राति जङ्गलका विभिन्न स्थानमा बोरामा लुकाइछिपाइ राखिएको तथा छरपष्ट अवस्थामा रहेको १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै सोही दिनको भोलीपल्ट बिहान घ्याङलेख गाउँपालिका–१ सुकाचुरीबाट ४ जना शंकास्पद व्यक्तिहरु भेटिएको र सोधपुछ गर्दा ५ लाख ९ हजार ६ सय ७५ रुपैयाँ फेला परेको थियो भने उनीहरू कै बयानबाट थप ८३ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बैंक रहेको घरका घरधनी छविलाल स्याङ्तान र स्थानिय चतुरमान बज्युको समेत संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूको बयान अनुसार उनीहरूले २०८२ साल असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाई तयारी तथा सूचना संकलन गर्दै आएको खुलेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस