आज: २०८३ बैशाख ७, सोमबार | Mon, 20, Apr, 2026

विद्यार्थी र कर्मचारी संघ संगठन तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

२०८३ बैशाख ७, सोमबार मा प्रकाशित ( १ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धार्दिङ -७ वैशाख।

प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक संस्थामा दलीय विद्यार्थी र कर्मचारी संघ संगठनहरु तत्काल हटाउन निर्देशन दिनु भएको छ।

शेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उहाँले यस्तो निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने भन्दै दलीय संघ संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने बताउनु भएको छ। अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने र राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न बताउनु भयो।

छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले विद्यार्थी संगठनका संरचना हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको भन्दै असुरक्षाको गुनासो गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका सरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सुरक्षा तथा आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने भएकाले उपकुलपतिहरूलाई ढुक्क भएर जिम्मेवारी पूरा गर्न आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको आधारमा कार्यान्वयन गर्न र एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नको लागी पनि कडा निर्देशन दिनु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस