आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज लोकतन्त्र दिवस मनाईँदै

२०८३ बैशाख ११, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ५२८ पटक पढिएको
नारी बाटिका


बिबियु- नारी वाटिका संवाददाता
धादिङ -११ वैशाख ।

आज प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली दिएर लोकतान्त्रिक दिवस मनाइँदैछ। २०५९ जेठ ८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा विघटित संसद्को पुनःस्थापना गरी देशको निरङ्कुशता पराजय भएको २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइन लागिएको हो।

त्यस दिन राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको भनेर पूर्वराजा शाहको घोषणामा भनिएको थियो ,

सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा (माओवादी)सहितको सहभागितामा निरङ्कुशताको विरोधममा भएको जनआन्दोलनको शक्तिमा उक्त घोषणा भएको थियो । त्यसपछी ०६३ वैशाख १५ गते प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरिएको थियो।

लोकतन्त्र स्थानपनापछि भएको दुई संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट २०७२ साल असोज ३ मा जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको थियो। सोही बमोजिम हाल नेपालमा संघ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले देश संघीयता अनुसार संन्चालित छ।

२०६२।०६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउन थालिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस