
नारी बाटिका
बिबियु
काठमाडौं- १७ जेठ ।
हाल देशभर उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय क्षेत्र, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यूनचापीय प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भई वर्षासहितको हावा हुरी चल्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका देशका अधिकांश हिमाली पहाडी क्षेत्रमा साधारणतया मौसम बदली छ भने तराई क्षेत्रमा आंशिक बदली छ ।
यस्तै लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत हिमाली तथा पहाडी क्षत्रमा साधारणतया बदली रहने र बाँकी तराई भेगमा आंशिक बदली रहने छ ।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहितको मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहितको वर्षा हुन सक्ने सम्भावना छ । यस्तै आज राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका देशका हिमाली क्षत्रमा साधारणतया बदली रहने र पहाडी क्षत्रमा तथा लुम्बिनी प्रदेशको तराई भुभागमा आंशिक बदली रहने छ । साथै बाँकी तराई क्षत्रमा मुख्यतया मौसम सफा रहन पूर्वानुमान छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागका थोरै स्थान, लुम्बिनी प्रदेशको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
साथै लुम्बिनी प्रदेशको तराई भागका एक दुई स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन र हरेक दिनको मौसम सम्बन्धी सूचनाको जानकारी लिन महाशाखाले आग्रह गरेको छ ।








प्रतिक्रिया दिनुहोस