
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ २७ जेठ ।
‘जेन–जी’ आन्दोलनका क्रममा फरार भएका एक युवक तेस्रो पटक चोरी आरोपमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ को ‘जेन–जेनजी’आन्दोलनमा भक्तपुरको बालसुधार गृहबाट फरार भएका एक युवक पुनः तेस्रो पटक चोरी कसुरमा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङका १९ वर्षीय याकुव नेपालीलाई चोरी कसूरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार यही जेठ २४ गते नेत्रावती डबजोङ गाउँपालिका–४ निवासी मिनबहादुर तामाङको घरबाट ताला फुटाई चोरी घटनाको अनुसन्धान गर्दा नेपालीको संलग्नता रहेको खुलेको थियो। युवकले मिनबहादुरको घरबाट एक तोला सुनको नौगेडी माला, ३५.३ लाल सुनको माइली तिलहरी तथा १० हजार रुपैयाँ नगद चोरी भएको भनी उजुरी परेको थियो।
प्रहरीको अनुसन्धानको क्रममा ति युवकले चोरी गरेको खुलेपछि उनलाई जेठ २५ गते उनकै घरमा खानतलासीको लागी प्रहरी पुगेको थियो। सोही क्रममा सुनजस्तो देखिने पहेँलो धातुको नौगेडी नौ थान, औँठी तीन थान, एक थान मोबाइल र नगद चार हजार १०० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै यसअघि पनि उनी दुई पटक चोरी कसूरमा पक्राउ परेका थिए। २०७८ चैत २१ गते बागलुङमा भएको सुनचाँदी चोरी प्रकरणमा दोषी ठहर भई दुई वर्ष बालसुधार गृहमा राख्ने तथा २३ हजार रुपैयाँ जरिवाना तिर्ने फैसला भएको थियो।
त्यसपछि २०८१ असोज १५ मा सिद्धलेक गाउँपालिकामा भएको चोरी घटनामा पुनः पक्राउ परेका उनीविरुद्ध धादिङ जिल्ला अदालतले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। त्यसकै सजाँय कैदमा रहेका भक्तपुर बालसुधार गृहमा २०८२ भदौ २५ गते ‘जेन–जेड’ आन्दोलनका क्रममा त्यहाँबाट भाग्न सफल भएका थिए।
पुन ः पक्राउ परेका नेपालीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४३ अन्तर्गत चोरी कसूरमा मुद्दा दर्ता गरिएको छ। धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस