
बिबियु,नारी वाटिका डट्कम
धादिङ -११ साउन ।
नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको औपचारिक रुपमै आज उद्घाटन हुँदैछ। यो देश कै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा हेरिएको छ।
पुर्व नेपाली काँग्रेस र नेकपा एमालेको सुयुक्त सरकारको पालामा सुरु गरिएको देशकै पहिलो सुरुङमार्ग आयोजना जेनजी आन्दोलनपछिको अर्थात बालेन नेतृत्वका पछिल्लो सरकारको पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको सुरुङमार्गसहभागितामा उद्घाटन गर्न लागिएको हो।
यससंगै आज सुरुङमार्गको उद्घाटन गरी निर्माण कम्पनीले नेपाल सरकारलाई बिधिवत रुपमा हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ। पूर्वाधार विकासमन्त्री लम्सालको प्रमुख आतिथ्यमा आज बिहान १०ः२५ बजे सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
कार्यक्रमको सुचि अनुसार मन्त्री लम्साल,जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्ने तयारी छ । आयोजकले जनाए अनुसार पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई मात्रै प्रवेश दिइने बताएको छ।
त्यसपछी केही दिन सुरुङमार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण पूर्ण रूपमा गरिसकेपछी मात्रै सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइने बताइएको छ। परीक्षण अवधिभर सुरुङमार्ग भएर गुड्ने सवारीसाधनले कुनै शुल्क तिर्नु पर्ने छैन।
सुरुङमार्गको लम्बाई कुल दुई हजार ६८८ मिटर रहेको छ भने अन्य सवारीसाधन सञ्चालन हुँदा तोकिएको शुल्क तिर्नु पर्छ। सडक विभागको सुचि अनुसार कार र भ्यानले काठमाडौँ तर्फ भित्रिँदा रु ६५ काठमाडौँबाट बाहिरिँदा रु ६० शुल्क तिर्नु पर्नेछ।
त्यसैगरी मिनीबस, ट्रक र टिपरहरुले काठमाडौँ तर्फ जाँदा रु ११५ र बाहिरिँदा रु ८० शुल्क तिर्नु पर्नेछ। यस्तै, बस, ट्रकले काठमाडौँ जाँदा रु २६० र बाहिरिँदा रु २०० शुल्क तिर्नु पर्नेछ।
तर पैदलयात्री, दुईपाङ्ग्रे सवारी र तीनपाङ्ग्रे सवारीले सुरुङमार्गमा प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि प्रवेश निषेध गरिएको छ।
यस आयोजनामा मुख्य तथा उद्धार गरी दुईवटा सुरुङमार्ग छन्। मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग गरिनेछ। सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसन नामक कम्पनीले गरेको हो।
सुरुङमार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरुक्षा गर्न दमकल, आकस्मिक उद्धार, सिसीटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र पनि उपलब्ध हुनेछ।
यसका साथै अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको निर्माण कम्पनीको भनाइछ। राजधानी तर्फ चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा आएर टुङ्गिनेछ।
विशेष गरी धादिङ जिल्ला अन्तर्रगत पृथ्वीराजमार्ग हुंदै काठमाडौं तर्फ भित्रने सवारी साधनको अत्याधिक रुपमा चाप हुने भएकाले यसै सडकको उकालो र घुमाउरो तथा भिर पनि भएकोले विगतमा दैनिक जसो साना ठुला दुर्घटना समेत हुने गरेकोले यात्रामा निकै जोखिम रहने गरेको थियो । अब उप्रान्त यस सुरुङमार्ग संन्चालनमा आएपछी इन्धन र सडक उपभोक्ताको झन्डै एक घन्टा समय बचत हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस