
नारी वाटिका डट्कम
धादिङ -११ साउन ।
गृह मन्त्रालयले गएराति सुनसरीमा भएको दुइ समुहबिचमा भएको झडपको घटनालाई लिएर त्यस जिल्लाका सिडियो वासुदेव घिमिरेसहित सुरक्षा प्रमुखहरुलाई मन्त्रालयमै फिर्ता बोलाएको छ ।
मन्त्रालयले प्र.जि.अ.घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाउँदै उहाँको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई जिम्मेवारी दिई सुनसरीमा खटाइएको हो।
यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई पनि प्रहरी प्रधान कार्यालय, काठमाडौंमा फिर्ता गरी प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी प्रमुखमा पठाउने निर्णय गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई पनि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पठाएको छ भने उक्त जिल्लाको प्रहरी प्रमुखमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाउने निर्णय गरिएको हो।
यता सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई समेत गृह्रले फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, काठमाडौँका डीएसपी मदन नाथलाई खटाएको छ।
आईतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच धार्मिक विषयलाई लिएर भएको झडपमा एक जनाको निधन भएको छ भने घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् ।
मन्त्रालयले घटना बारे छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। एक साताभित्र प्रतिवेदन बुझाउने गरी समितिलाई जिम्मेवारी दिएको छ।
सामान्यबाट सुरु भएको दुइ समुहबिचको विवाद झडपमा परिणत भएपछि तनाबको स्थिति सिर्जना भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यु जारी गरेको छ।












प्रतिक्रिया दिनुहोस