
काठमाडौं -१८ साउन ।
उपत्यकामा श्रृंखलाबद्ध रूपमा नगद तथा गरगहना लुटपाट गर्ने ’कर्मा समूह’का नाइकेसहितका लुटेराहरू पक्राउ परेका छन् । शोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई डर,धम्कि देखाई सुनका सिक्रीलगायतका गर गहनाहरु लुटपाट गर्दै आएका ’कर्मा समूह’ का नाइकेसहितलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी उक्त गिरोहका नाइके कर्मा तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।
उनीहरुले लामो समयदेखि काठमाडौंका सडकहरूमा ’चेन स्न्याचिङ’ (सिक्री लुटपाट) गर्दै सोही समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्धाहरूलाई निशाना बनाउने गरेको प्रहरीले जनाएको छ।
उनीहरुले लुटपाट गर्दा प्रतिकार गर्न खोज्नेहरूलाई घाँटी थिच्ने, कुटपिट गर्ने र घाइते बनाउने जस्ता गतिविधि गर्दै आएका प्रहरी अनुसन्धानबाट खुलेको हो। समूहका नाइके ३४ वर्षीय कर्मा तामाङलाई पक्राउ गर्न प्रहरीले गोली नै प्रहार गर्नुपरेको थियो।
यस्तै सोही समूहले लुटपाटमा प्रयोग गर्नका लागि पहिले २२० सीसीका पल्सर मोटरसाइकलहरू चोरी गर्ने गरेको प्रहरीले जनाएको छ। यससंगै उनीहरुले लुटपाट गरिसकेपछि मोटरसाइकलको नम्बर प्लेट र स्वरूप परिवर्तन गरी उक्त मोटरसाइकललाई उपत्यका बाहिर लगेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट मोटरसाइकल, खुकुरी, पाँच थान फरक–फरक नम्बर प्लेट र मोटरसाइकलको लक तोड्न प्रयोग गरिने मास्टर की र टी–लक समेत बरामद गरेको उपत्यका प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिनु भयो।
समुहका नाइके सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई बौद्ध बस्ने कर्माको खोजीमा प्रहरीले लामो समयदेखि निगरानी गरिरहेको र कर्मा तामाङ यस अघि पनि पटक–पटक चोरी र डाँका मुद्दामा पक्राउ परेका र प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट फरार भएका थिए।












प्रतिक्रिया दिनुहोस