
गोरखा -२१ भदौ ।
गोरखा जिल्लाको हिमाली क्षेत्रबाट बग्ने चुमनुब्री गाउँपालिका–४ र २ अन्तर्रगतको थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ।
आईतबार विहान एक्कासी आएको उक्त खोलाको बाढीले गोरखाको हिमाली भेगमा बसोबास गर्दै आएका चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ),उर्गेन छयोदेन,लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको गोरखा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।
बाढी आएको भन्ने पुर्व जानकारी पाएर स्थानीयवासीहरु भागेर ज्यान जोगाउन सफल भएकाले बाढीमा मानवीय क्षति भने नभए पनि भौतिक रुपमा क्षति पुर्याएको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भयो । बाढीले सोही ठाउँको एक झोलुङ्गे पुल समेत बगाएको छ।
उक्त स्थानको पुल बाढीले बगाएपछि मनास्लु पदयात्रामा गएका स्वदेशी तथा विदेशी पर्यटकहरु समस्यामा पर्ने अवस्था आएको छ। खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पु¥याएको गोरखा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनु भयो ।
यससंगै उक्त बाढी आएको खोला धादिङ जिल्ला भएर बग्ने बूढीगण्डकीसँग मिसिने भएकोले बूढीगण्डकीको तटीय क्षेत्रमा बस्दै आएका समुदायलाई सचेत रहन आग्रह गरिएको छ।












प्रतिक्रिया दिनुहोस