नारी वाटीका डट्कम
नवलपुर-१७ असोज ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा ११ जना यात्रुहरु समेत घाइते भएका छन्।
शनिबार बिहान करिब ४ बजे नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रणमा लिन नसक्दा पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा परी जाजरकोट भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँके कोहलपुर–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिका बस्ने ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० बस्ने ५५ वर्षीय एकेन्द्रराज रेग्मी, बाँके नेपालगञ्ज–७ घर भएका २२ वर्षीय कृष कनौजिया र नामथर नखुलेका अर्का एकजना अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो।
यस्तै, दुर्घटना भएपछी सोही बसले च्यापिएका यात्रुको उद्धार गर्न दुईवटा क्रेन प्रयोग गरिएको थियो। घटनाको करिब सवा २ घण्टापछी च्यापिएका चार जना पुरुषलाई निकालेर मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीले जनाएको छ ।
साथै गम्भीर घाइतेको थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । बसमा सवार यात्रुमध्ये दुई जना मात्रै सकुशल रहेको जनाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।












प्रतिक्रिया दिनुहोस