आज: २०८२ भाद्र ६, शुक्रबार | Fri, 22, Aug, 2025

कुशे औंशी अर्थात् “बा को मुख हेर्ने दिन” जन्मदाताप्रति श्रद्धा र सद्भाव

२०८२ भाद्र ६, शुक्रबार मा प्रकाशित ( ६ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ ६ भदौ ।

“पितृदेवो भवः” पिता देवता जस्तै हुन् भन्ने सनातन धर्मको सन्देश समेटिएको दिन हो ‘कुशे’ औंसीको जुन दिनलाई आफ्ना बुवा नहुने सन्तानले श्राद्ध तर्पण दिने पवित्र दिनको रुपमा लिने गर्दछन् । पछिल्लो समयमा भने नेपाली समाजमा “बुबाको मुख हेर्ने दिन” को रूपमा पनि कुशे औंशीलाई लिईन्छ ।

वर्षमा एक पटक आउने भाद्र कृष्ण औंसीका दिन मनाइने यो पर्व पिताप्रति श्रद्धा, कृतज्ञता र समर्पण व्यक्त गर्ने दिनको रुपमा मानिन्छ । यस दिन सन्तानहरूले जीवित बुबालाई मिठा परिकार, नयाँ वस्त्र र उपहार प्रदान गरी स्नेह र आशीर्वाद लिने गर्दछन् । साथै दिवङ्गत भैसकेका पितृहरूलाई भने तर्पण, श्राद्ध र दान–पुण्य आदी गरेर श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

कुशे औंसीको दिन देशभरका तीर्थस्थलहरूमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौंको गोकर्णेश्वर, सुनसरीको वराहक्षेत्र, नवलपुरको देवघाट लगायतका पवित्र धार्मिक स्थानमा पितृ तर्पण गर्न आउनेहरूको संख्या उल्लेखनीय हुन्छ । यही कारणले पनि पर्वलाई “पितृ–सम्मान दिवस” को रूपमा समेत लिने गरिएको हो ।

अर्को तर्फ कुशे औंसीमा प्रयोग हुने “कुश” घाँस सनातन धर्ममा अत्यन्त पवित्र मानिन्छ । पुराणमा उल्लेख भए अनुसार ब्रह्माको सृष्टिसँगै कुशको उत्पत्ति भएको हो । भगवान विष्णुले वराह अवतारका वेला समुद्र किनारमा विश्राम गर्दा शरीरबाट झरेका रौँबाट कुशको उत्पत्ति भएको पौराणिक मान्यता रहको छ ।

त्यसैले कुनै पनि देव कार्य या पितृ कार्य जे गर्दापनि कुशको आवाश्यकता पर्ने गर्दछ । कुशबिना यज्ञ, श्राद्ध, वा कुनै पनि पूजा अपुरो मानिन्छ । त्यसैले यो दिनलाई “कुशोत्पाटिनी अमावस्या” पनि भनिन्छ । यस दिन विधिपूर्वक मन्त्र उच्चारणसहित कुश उखेल्ने गरिन्छ छ । पौराणिक मान्यता अनुसार सोमबार परेको कुशे औंसीमा संकलित कुश १२ वर्षसम्म पवित्र हुने धार्मिक विश्वास छ ।

यस वर्ष भोली भाद्ध ७ गते आईतबारको दिन कुशे औंशी परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस