आज: २०८२ मंसिर ७, आईतबार | Sun, 23, Nov, 2025

दलका प्रमुख नेताहरुका घरमा भेटिएका पैसाका बारेमा छानबिन सुरु

२०८२ आश्विन १०, शुक्रबार मा प्रकाशित ( १ महिना अघि) ३५३५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ -१० असोज ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेन–जी आन्दोलनका क्रममा आगालागी हुंदा नेताहरूको घरमा भेटिएको पैसाका बारेमा विस्तृत अनुसन्धान सुरु गरेको छ ।

विभागले पैसा भेटिएको भनिएका कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा पोलिएको अवस्थामा भेटिएको नोटका बारेमा छानबिन थालेको हो ।

यसै गरी विभागको टोलीले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा समेत पुगेर जलेका सामानहरूको बारेमा मुचुल्का तयार पारेको छ । कांग्रेसका सभापति देउवाको निवास बूढानीलकण्ठ, नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा विभागको टोलीले मुचुल्का उठाएको हो ।

२४ गतेको आगजनीपछि देउवा, प्रचण्ड र खड्काको घरमा पैसाका थुप्रो जलेको भनेर सामाजिक संन्जालमा भिडियो बाहिरिएको थियो । यसैगरी खड्काको घरबाट पैसाका नोटहरू आकाशमा उडाइएको भिडियो बाहिरिएको थियो ।

स्थानीय प्रत्यक्षदर्शीले देउवाको घरमा पैसा राख्ने सुरुङसमेत भेटिएको दाबी गरे पनि पछि देउवाको सचिवालयले त्यो सुरुङ नभई पानी ट्यांकी भएको स्पष्टीकरण दिएको थियो । सोही दिन ‘प्रचण्ड’को निवासमा पैसा राख्न प्रयोग गरिने सेफहरू फोडिएको र डढेको पैसाको चाङ भनेर भिडियो भाइरल बनेका थिए ।

यस्तै प्रचण्डको घरमा एक युवती र स्थानीयले पैसाको चाङ जलेको र एउटा कोठाभरि पैसा भएको दाबी गरेका थिए । सामाजिक सञ्जालमा जलेका नोटका तस्वीरहरू सार्वजनिक भएका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अनुसन्धान अधिकृतका अनुसार शीर्ष नेताको घरमा डढेको अवस्थामा केही नोटहरू भेटिए पनि त्यसकै आधारमा थप अनुसन्धान अघि बढाउन कठिन हुन सक्ने बताएका छन् ।

‘नेताका घरमा पैसा उड्दासमेत छानबिन नहुने, तर उजुरीकै भरमा अन्यको सम्पत्ति शुद्धीकरणमाथि छानबिन गर्नु न्यायिक हिसाबले पनि बराबर नहुने देखिएपछि माथिकै निर्देशनमा मुचुल्का उठाउन गएका हौं,’ विभागका एक स्रोतले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस