
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं- १२ असोज ।
जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँचजनालाई विदेश भ्रमणमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ।
उनीहरूको राहदानी (पासपोर्ट) रोक्का गर्न आयोगले सिफारिस गरेको हो। सिफारिसमा राहदानी रोक्का भन्ने शब्द प्रयोग नभई विदेश भ्रमणमा रोक लगाउनु भनी उल्लेख गरिएको हो।
उनीहरूलाई स्वीकृति नभई काठमाडौँ उपत्यका पनि छाड्न नपाउने व्यवस्था गर्न भनेको छ। छानबिन र जाँचबुझको सिलसिलामा उनीहरू अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले यस्तो सिफारिस गरेको हो।
यसरी पासपोर्ट रोक्का तथा विदेश भ्रमण जान बन्देज गरिएकाहरुमा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौँका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल परेका छन्।
गत २३ भदौको जेनजी आन्दोलनमा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो। प्रधानमन्त्री ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दावी गरेका थिए। उनले विदेशी शक्तिले घुसपैठ गरेको भन्दै दावी गरेका थिए।
गृह मन्त्रालयको निर्देशनमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए।
जाँचबुझ आयोगले जेनजी आन्दोलन दमनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक सहित प्रमुख जिल्ला अधिकारी रिजालको पनि भूमिका हुनसक्ने देखिएको भन्दै उनीहरूको राहदानी यथावत् राख्दा विदेशतिर लाग्ने जोखिम हुनसक्ने भएकोल रोक्काको सिफारिस गरेको हो।
राहदानी ऐनको दफा १२(क)मा राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानव बेचविखन, अपहरण, लागूऔषध, अवैध हतियार, संगठित अपराध र आतंकवादको आरोपमा अनुसन्धान भइरहेमा राहदानी रोक्का गर्न सकिने उल्लेख छ।







प्रतिक्रिया दिनुहोस