आज: २०८३ जेष्ठ २३, शनिबार | Sat, 06, Jun, 2026

यस वर्ष मनसुनमा औसतभन्दा कम पानी पर्ने तथा गर्मी बढी हुने पुर्वानुमान

२०८३ जेष्ठ २३, शनिबार मा प्रकाशित ( ३ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


बबियु,नारी वाटिका संवाददाता

धादिङ -२३ जेठ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने बताएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हाल दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेकोले बङ्गालको खाडी हुँदै नेपालमा मनसुन भित्रिन करिब एक साता लाग्ने अनुमान गरिएको हो।

पौडेलले भन्नु भयो “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन। तर, एक हप्ता आसपासमा मनसुन भित्रिन सक्ने हाम्रो अनुमान छ। अबको तीन दिनपछी बङ्गालको खाडीमा मनसुन आईपुग्ने अवस्था छ भने तर नेपालमा मनसुन आउन करिब एक हप्ता वा केही दिनपछि पनि हुनसक्छ।” तर कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने विभागले जनाएको छ ।

अघिल्ला वर्षहरुमा नेपालमा औसत जुन १३ मा मनसुन भित्रिने गरेको छ । भारतमा भने औषत मिति जुन १ मा मनसुन भित्रिने गरेको भएपनि यस वर्ष केही ढिला गरेर मनसुन भित्रिएको छ। यसै कारण नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने अनुमान गरिएको हो ।

विगत वर्षको तुलनामा यस वर्ष मनसुनमा औसतभन्दा कम मानी पर्ने अवस्था रहेकोले गर्मी बढी हुने मौसमका विज्ञहरुले बताएका छन् । कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुने सक्ने सम्भावनासमेत रहेको मौसमविद्हरूले अनुमान गरेका हुन्।

साथै यस पटकको मनसुनको समयमा करिब ५१ हजार परिवारका दुई लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको उल्लेख गर्दै विपत् प्रतिकार्यको लागी राष्ट्रिय योजना निर्माण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस