
नारी बाटिका
नारी वाटिका डट्कम
विराटनगर- ९ असार ।
आज दिउँसो विराटनगरमा डाक्टरले चलाएको गाडीले ठक्कर दिएर नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक ( सई)को मृत्यु भएको छ भने दुर्घटनामा उनकी पत्नी रामपरी यादवसमेत घाइते भएकी छन्।
सुनसरीको बर्जु गाउँपालिका–६,नरह चोकमा मंगलबार दिउँसो करिब १२ बजे विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएका ५० वर्षीय लालकुमार यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएपनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार ४७ वर्षीया उनकी पत्नी रामपरीको दाहिने खुट्टामा चोट लागेको छ र उनको सोही अस्पतालमा उपचार भइरहेको छ। मृतक यादव नेपाल प्रहरीका वहाल नायब निरीक्षक( वरिष्ठ सई) हुन् ।
कार चालक नेपाल मेडिकल एशोसिएसन विराटनगर शाखाका अध्यक्ष तथा रेडियोलोजिस्ट ५० वर्षीय डा.राजेन्द्र चौधरी हुन्।। प्रहरीका अनुसार डा. चौधरी आफैँले कार चलाएर बर्जुको चिमडी बजारतर्फ अस्पतालमा सेवा दिन जाँदै गरेको बताइएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाका बेला कार तीव्र गतिमा थियो। कारको ठक्करबाट मोटरसाइकलमा आगलागीसमेत भएको थियो, जसलाई स्थानीयको सक्रियतामा तत्काल नियन्त्रणमा लिइएको थियो।
कार चालक डा. चौधरी भने सकुशल रहेका र घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।








प्रतिक्रिया दिनुहोस