
नारी बाटिका
बिवियु,नारी वाटिका डट्कम
प्यूठान -१३ असार ।
स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगर आफैले चलाएको गाडी दुर्घटना हुंदा उनको अवस्था अचेत रहेको छ । आज केही बेरअघि मात्रै अन्दाजी पौने ५ बजेतिर उपमेयर मगर सवार लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी–२ बाङ्गेशाल नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
उपमेयर मगरको गाडी सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनाग्रस्त गाडीसँगै च्यापिएको अवस्थामा उपमेयर मगर भेटिएका र घटना के कसरी भयो भन्नेमा उनले कुनै प्रतिक्रिया नदिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख, डिएसपी नरहरि अधिकारीले जानकारी दिनु भयो । डिएसपी अधिकारीका अनुसार ‘उहाँ गाडीमा च्यापिएको अवस्थामा फेला पर्नु भएको छ। घटनास्थलबाट आएको जानकारीअनुसार उहाँको होस छैन, उद्धार कार्य जारी छ।’
अहिले घटनास्थलमा अस्थायी प्रहरी पोष्ट खालबाट प्रहरी सहायक निरीक्षक कृष्णबहादुर केसी र इलाका प्रहरी कार्यालय भृङ्ग्रीबाट प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धारमा खटिएको र घाइते मगरलाई अस्पताल पुर्याएपछि मात्र उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी हुने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस