आज: २०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

नीलकण्ठको तल्लो भुलभुले पहिरोले गाउँ नै जोखिममा,धादिङवेशीमा आउने खानेपानी लाईन पुर्ण रुपमा क्षति

२०८३ श्रावण ६, बुधबार मा प्रकाशित ( ३४ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -६ साउन ।

धादिङको नीलकण्ठ नगरपालिका २ स्थित तल्लो भुलभुले गाउँमा पहिरोले चारघर विस्तापित भएका छन्।

केही दिनदेखी भएको अविरल वर्षा र मंगंलबार दिउँसो भारी वर्षा भएको कारण उक्त गाउँको पँधेरो खोल्चा डाँडाबाट अचानक ढुंगा माटो र लेदोसहितको पहिरो खस्न थालेपछि सोही क्षेत्रमा रहेका दिलबहादुर गुरुङ, गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका घरहरू पहिरोको चपेटामा परेको हो।

साथै पहिरोले दिलबहादुर गुरुङको घर पूर्ण रूपमा पुरिएको छ भने उनीसहित सोही स्थानका चार घर परिवारहरु विस्थापित भएका हुन्। यससंगै सोही पहिरोले पँधेरो धारा डाँडाबाट धादिङ बेसीमा वितरण गर्दै आइरहेको मुख्य खानेपानीको पाइप नै फुटेर सोही पहिरो खसेकै डाँडामै बग्न थालेपछि जमिन थप कमजोर भई डाँडा नै फुटेर खसेको अवस्था छ।

सोही पहिरोको कारण मंगलबारदेखी सदरमुकाम धादिङ बेसीका करिब २ हजार ५ सय घरधुरीमा खानेपानीको हाहाकार बनाएको छ । उक्त स्थानमा रहेको धादिङ बेसी खानेपानी लाईनको पाइप फुटेर बगेको पानीले अर्कोतर्फ रहेको नेवार खोल्छाबाट पनि पहिरो खसेको अवस्था छ ।

यसरी दुई खोल्साको बीचमा परेको भुलभुले गाउँ चौतर्फी जोखिममा परेपछि ४६ घर परिवार जोखिममा रहेको अवस्था छ ।

यसैगरी सोही पहिरोले त्यसै गाउँका करिब २०० रोपनी खेतीयोग्य जग्गा बगाएर सखाप पारेको छ। यस्तै, प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको ६०० घनमिटरको तारजाली (ग्याबिन) पर्खाल समेत पहिरोले पुर्ण रुपमा क्षति पुर्याएको छ ।

उक्त विपद्को घटनापछी तत्काल जिल्ला प्रहरी कार्यालयको टोली, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुंगाना, उपप्रमुख,नीलकण्ठ खानेपानी तथा स्वच्छता व्यवस्थापन बोर्ड लगायतको टोलीले पहिरोग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरेका छन्। निरीक्षणको क्रममा टोलीले फुटेको पाइप मर्मत गरी खानेपानी सुचारु गर्ने र विस्थापित एवम् जोखिममा परेका उक्त बस्तीलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्न आवश्यक पहल गरिने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस