आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

रोल्पामा गएको पहिरोले सात जनाको मृत्यु,पाँच जना बेपत्ता

२०८३ श्रावण २८, बिहिबार मा प्रकाशित ( ७ मिनेट अघि) ९४ पटक पढिएको
नारी बाटिका


रोल्पा -२८ साउन ।

केही दिनदेखीको अविरल वर्षाले रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति पहिरो जाँदा सात जनाको मृत्यु भएको छ साथै सोही पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजीकार्य जारी रहेको छ ।

पहिरोमा परी सोही गाउँका २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षिय संजय घर्तिमगर घाईते भएका छन् । उनीहरु दुवैको स्वास्थ्य चौकी थवाङ्गबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

केही दिनदेखी लगातारको वर्षाले लेदोसहितको पहिरो झरी रहेको हुँदा उद्धार कार्यमा कठिनाइ परेको प्रहरीले जनाएको छ ।

पहिरोमा मृत्यु भएकाहरु सोही स्थानका १८ वर्षिया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षिय कमल बहादुर पुन मगर, ४० वर्षिया जुन कुमारी पुन मगर, ९ वर्षिय अशिम पुन मगर, ६ वर्षिय अशोक पुन मगर, ७५ वर्षिय दल बहादुर पुन मगर र ७१ वर्षिया मनरखी पुन मगर रहेका छन् ।

मृतकमध्य एक महिला र दुई जना पुरुषको शव प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेपछि अन्य बेपत्ता भएकाहरुको खोजीका लागी सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानका विपद् व्यवस्थापनको टोली परिचालन गरिएको छ ।

त्यस्तै बेपत्ता हुनेमा सोही ठाउँका ८० वर्षिय अजम्बर पुन मगर, ७८ वर्षिय बल बहादुर पुन मगर, ७२ वर्षिय लिल बहादुर पुन मगर, ७१ वर्षिया मनि पुन मगर र ६७ वर्षिया हस्तकला पुन मगर रहेको प्रहरीले जनाएको छ ।

मृतक कमल बहादुर पुनमगरको घरसहित अन्य घर र गोठ पुरिदा पशु चौपाया समेत पुरिएर बेपत्ता भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस