आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

आज पञ्चमीः नागको पूजा गरी नागपञ्चमी पर्व मनाइँदै

२०८३ भाद्र १, सोमबार मा प्रकाशित ( १३ मिनेट अघि) ५९० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
धादिङ -१ भदौ ।

नागपञ्चमी पर्व आज विभिन्न जातका नागका तस्वीरहरु घर घरका मुल गेट अथवा दैलीका माथी टाँसेर पुजा आजा गरी मनाईँदैछ ।

परम्पराअनुसार नागलाई पनि हामी शक्तिशाली नागराजको रुपमा पूजा गरी हिन्दु सनातनी धर्मालम्बीहरुले मनाउँने गर्दछन् । आज गूरु पोरोहितले जप तथा पुजा गरी घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने गरिन्छ ।

यस वर्ष भने जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन आजै तिथि परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका विषालु जीवहरुले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको समेत भय हुदैन भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले बताउनु भयो ।

वैदिककालदेखि नै नाग पूजाको गर्ने प्रचलन भएको मानिन्छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले वर्षाको लागी पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धार्मिकविद्हरु बताउँछन् ।

त्यस्तै वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागराजसँग ब्रह्माको सम्वाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिएको हो ।

त्यस्तै हामिले घरको जग राख्दा पनि त्यस स्थानमा बनाईँने घरको जगमुनि नाग बसेका हुन्छन् र नाग रिसाए भने घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा रही आएको छ । यसका साथै नागलाई विष्णु र शिवका रूपमा मान्ने वैदिक सनातनकालदेखि नै रही आएको छ ।

भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो ।

भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्री रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरको मुकुटाकारका रूपमा सर्पको आकृति कुँदिएको हुन्छ ।

आज काठमाडौंस्थित नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग बस्ने स्थानमा विशेष पूजा आरधाना गरी नाग राजालाई मन पर्ने विशेषगरी गाईको दूध,घ्यु, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

धार्मिक मात्रै नभई वैज्ञानिक रूपमा पनि प्रकृतिमा भएका विषालु पदार्थलाई नाग,सर्पलगायतका जीवले शोषण गरी मानव जातिलाई विषालु पदार्थको प्रभाव पर्नबाट जोगाउन सक्छ भन्ने अनुसन्धानबाट पुष्टि भएको छ ।

यीनै कारणले पनि परापुर्व कालदेखी नै ऋषिमुनिले नागको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका ठुला चाड पर्वको सुरु भएको मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस