
बिस्तृत विवरण आउन बाँकी
नारी वाटीका डट्कम
मुस्ताङ -२५ भदौ ।
मुस्ताङ केन्द्रबिन्दु भएर गए राति करिब ९ः५३ बजेको समयमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
प्रारम्भिक जानकारी अनुसार उक्त भुकम्पले अहिलेसम्म मुस्ताङको लोमान्थाङ गाउँपालिकाका विभिन्न बस्तीमा कम्तीमा पनि ६७ घरमा आंशिक क्षति पुगेको छ। यद्यपि मानवीय क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।
भुकम्पले लोमान्थाङ–३ का केही घरहरु चर्किएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हालसम्मको विवरणमा ‘६७ घर’ भनिए पनि नाम्गेलका १२ संरचनामध्ये चारवटा गुम्बा र आठवटा घर सममेत रहेको बताईएको छ ।
विशेषगरी उक्त भूकम्पबाट ढुङ्गा–माटोबाट बनेको कच्ची घर पूर्ण रूपमा भत्किएको बताइएको छ। सोही क्षेत्रमा रहेको छोर्द गुम्बाको बाहिरी कम्पाउण्डको पर्खाल पनि भत्किएको प्रहरीले जनाएको छ।
लोमान्थाङ–१ लगायतका क्षेत्रमा ढुङ्गा–माटोबाट बनेका पुराना कच्ची घरहरु प्रायःसबैजसो चिरा परेको बताइएको छ। केही घरका १३ देखि १४ वटासम्म कोठा चर्किएको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनापछी जिल्ला प्रहरी कार्यालयका तथा मातहतका प्रहरीहरु परिचालन गरिएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। देशको हिमाली भेग साथैभौगोलिक विकटता र सञ्चार साधनको सीमितता रहेकोले सबै क्षेत्रको विवरण तत्काल प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। त्यसैले क्षतिको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।
यसका साथै भूकम्पको केन्द्रबिन्दु तथा अवस्था बारे राष्ट्रीय भूकम्प मापन केन्द्रको समेत विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ। तर प्रारम्भिक विवरण अनुसार उक्त भुकम्पले निकै भौतिक क्षति पुगेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस