
बिबियु,नारी वाटीका डट्कम
धादिङ,२५ असोज ।
बडादशैंको पावन अवसरमा दर्शक एव्ं सम्पुर्ण नागरिकलाई हार्दिक मंगलमय शुभकामना
यस वर्षको बडादशैंको आज घटस्थापना दिन हो ।
आजदेखि दशैंको सुरुवात भएको छ र आज पहिलो दिन नेपालीका घर घरमा घटस्थापना गरी नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्री को पूजाआराधना गरिँँदैछ। शैलराज हिमालयकी पुत्रीका रूपमा जन्मिएकी हुनाले उहाँलाई शैलपुत्री भनिएको हो।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।
घटस्थापनाका लागी आज बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक जमरा राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ। यसै कार्यलाई जमरा राख्ने भनिएको हो।
यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसंगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गर्ने गरिन्छ।
जमरा राख्दा जौँ मात्रै रोप्ने शास्त्रीय विधि भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनु भयो। तर आफुना कुल परम्परा अनुसार कसैले अन्य मकै,हल्का धान समेत मिसायर जमरा राख्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गर्न सकिन्छ ।
आज घटस्थापनाको लागी नेपाली समय अनुसार शुभ साइत ११ः४७ बजे रहेको समितिले जनाएको छ। आजैको दिन विधिपूर्वक तामाको घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा नवदुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।
यस वर्ष आजको दिन चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताए।
तर यस वर्ष महाअष्टमीको तिथि दुई दिनसम्म भेटेको छ । नेपालीले आ आफ्ना चलन चल्ति अनुसार आज बेलुकी तथा केहीले भोली विहान दुत्तीयाको दिन पनि जमरा राख्ने परमपरा छ ।
दुर्गा देवी भवानीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक उहाँको पुजा आरधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य एवं् ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गरिने परम्परा छ।
नवदुर्गााको नौ रुप अर्थात विभिन्न नामबाट चिनिने भएकोले नौ दिनसम्म नव दुर्गाको पूजा आरधना गरिन्छ ।
जस पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।
विजयादशमीको टिकाको लागी शुभ साइत कात्तिक ४ गते १०ः२६ बजे रहेको छ ।












प्रतिक्रिया दिनुहोस